पु.समाचार

मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ ।

आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा ठकुरीको बिहान करिब २ः३० बजेको समयमा शरीरमा आगो लागेर चिच्याएपछि उनलाई तत्काल उपचारार्थ अस्पताल पु¥याइएको थियो । समीक्षाको शरीरमा बाबु तेजबहादुर ठकुरीसहित घर परिवारका अन्य सदस्यले मट्टितेल छर्केर आगो लगाएर हत्या गरिएको आरोप उनकी आमा माया थापाले लगाएका छन् ।

समीक्षाको मृत्युपश्चात मृतककी आमा माया थापाले इलाका प्रहरी कार्यालय सालझण्डीमा ३४ वर्षीय बाबु तेजबहादुर, हजुरआमा ६४ वर्षीया हरिकला र बुटवल उपमहानगरपालिका– २ बस्ने फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिपेश बस्यालले जानकारी दिए ।

उनीहरुमध्ये मधु घटनाको राति मृतक माइतीमा बसेकी थिइन् भने अमृता भने नरहेको प्रहरीले जनाएको छ । घटनालगत्तै उनलाई उपचारार्थ लुम्बिनी अञ्चल अस्पताल बुटवल हुँदै मिसन अस्पताल पाल्पा र अन्तमा कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा यही असार २० गते बिहान ज्यान गएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक समीक्षा जन्मिएको नौ महिनामा आमा मायाले दोस्रो विवाह गरेपछि उनी आमासँग र मावलीमा बस्दै आएकी थिइन् । उनी विगत ६ महिनाअघि मात्र आफ्ना परिवारसँग बस्न थालेकी हुन् । उनी स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत् थिइन् ।