समाचार

काँग्रेसबाट नियुक्त भएका डा. कोईराला प्रधानमन्त्री ओलीको आदेशमा वालुवाटारमै थुनिए !

शुसान्त आचार्य/काठमाडौं । सत्रौं विश्व संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा जाँदै गरेका नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. कूलप्रसाद कोइरालालाई सरकारले विमानस्थलबाटै समातेर फिर्ता गराएको छ ।

पूर्व निर्धारित संस्कृत सम्मेलन समापन समारोहमा सम्बोधनसमेत गर्ने तयारीसहित जाँदै गरेका कोइरालालाई १० जना प्रहरीको टोलीले विमानस्थलबाटै पक्राउ गरेको थियो। विमानस्थलमा समातिएका कोइरालालाई त्यहाँबाट प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा नियन्त्रणमा राखिएको थियो।

‘पहिलो पटक प्रधानमन्त्री निवासभित्र कैद बनाइयो, कोइरालाले भने, ‘एक घन्टा राखेर चिया खुवाएर फिर्ता गरे। विमानस्थलबाट सोझै बालुवाटार लगेर थुनेका थिए।’

प्रधानमन्त्री स्व.सुशील कोइरालाको पालामा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा कोइराला नियुक्त भएका थिए।

ुविश्वविद्यालयको कानुनी प्रकृया पूरा गरेर नेपालको प्रतिनिधित्व गर्न म जाँदै थिएँ, कोइरालाले भने, ‘किन मलाई अपराधी झै विमानस्थलबाट समातेर ल्याइयो, कारण बुझेको छैन।’

बालुवाटारमा कोइरालालाई गाडी राख्ने नजिकैको कोठामा एक घन्टा राखेर फिर्ता गरिएको थियो। साथै कोइरालाको लगेज प्रहरीले उनका सहयोगलाई बुझाएका थिए।

उनले सहकुलपति (शिक्षा मन्त्री)मार्फत् कुलपति (प्रधानमन्त्री) कहाँ संस्कृत सम्मेलनमा सहभागी हुन जाने विदा स्वीकृतिका लागि पत्र पठाएको दावी गरे। ‘सन् २०२४ मा नेपालमा विश्व संस्कृत सम्मेलन गर्ने तयारीसहित म जाँदै थिएँ, उनले भने, ‘कसैले म कांग्रेसी हुँ भनेर प्रधानमन्त्रीलाई भन्यो होला, उनले समात्न लगाए।’

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व सहित २०२४ मा यही विश्व सम्मेलन गर्ने निर्णय भएको थियो। त्यसका लागि ३५ लाख रुपैयाँ बजेट स्वीकृत पनि गरिएको थियो। नयाँ सरकार बनेसँगै भ्रमणको बजेट घटाएर १० लाखमा सीमित गरिएको थियो।

‘अर्थमन्त्री युवराज खतिवडाले १० लाख खर्च क्याविनेटमा लैजान्छु भनेका थिए’ कोइरालाले भने, ‘असहिष्णु राजनीतिक उद्देश्यले यसो गरियो।’

क्यानडाका लागि विमान उड्ने समय कसिएपछि बालुवाटारबाट ुहिरासतमुक्तु भएका थिए उनी।