समाचार

सांस्कृतिक सम्पदामा क्षति पुग्ने गरी सडक विस्तार नगर्न माग

काठमाडौँ । उपत्यका सडक विस्तार संघर्ष समितिले सांस्कृतिक सम्पदामा क्षति पु¥याउने गरी सडक विस्तारका काम नगर्न खबरदारी गरेको छ ।

समितिले आज ललितपुर महानगरपालिकाको लगनखेलस्थित बटुकभैरव मन्दिरमा आयोजना गरेको कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका ३२ सडक संघर्ष समितिका पदाधिकारी एवं सदस्य उपस्थित भई खबरदारी गरेका हुन् । केही समयअघि बटुकभैरव मन्दिरअघिको पर्खाल विस्तारका लागि भनी भत्काइएकामा समितिका सदस्यले विरोध गरे ।

सर्वोच्च अदालतले गत असोजमा फैसला गरी गत हप्तामा पूर्णपाठ दिएबमोजिम सांस्कृतिक सम्पदामा क्षति नपु¥याउन माग गरिएको समितिका अध्यक्ष सुमन सायमीले जानकारी दिए ।

अदालतले विकासको योजना ल्याउनुअघि अध्ययन गर्न, विकल्प पाएसम्म उपयोग गर्न र नपाएमात्र जग्गाप्राप्ति गरेर सडक सीमा तोक्न दिएको निर्देशनबमोजिम काम गर्न अनुरोध गरिएको उपाध्यक्ष सरोज श्रेष्ठले बताए ।

पूर्णपाठ आएलगत्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणले क्षतिपूर्ति लिन आऊ भनी प्रकाशन गरेको सूचनाले अदालतको अवहेलना गरेको ठहर समितिको छ । यसविरुद्ध फेरि अदालत जान बाध्य नपार्न समितिले चेतावनी दिएको छ । समितिले पहिलो चरणको आन्दोलन सफल भएकामा मन्दिरमा पूजापाठसमेत गरेका थिए ।