पर्यटन/संस्कृति

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक – मन्त्री अधिकारी

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले समृद्धि र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक भएको बताएका छन् ।

पर्यटन पत्रकार मञ्च, पोखराद्वारा आज यहाँ आयोजित ‘गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधार र पोखराको भविष्य’ विषयक अन्तक्र्रियामा उनले एकले अर्कालाई देखाउने प्रवृत्ति त्याग्दै तोकिएका काम गर्ने र एकापसमा समन्वय गरी अघि बढ्नुपर्ने बताए ।

पर्यटन क्षेत्रमा सरकारले आफ्ना कामलाई तीव्रताका साथ अघि बढाएको बताउँदै उनले हवाई रुटलगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरे ।

अन्तरकृयामा कार्यपत्र प्रस्तुत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव किशोर थापाले नेपालको समृद्धिको प्रमुख आधार पर्यटन रहेको बताए ।

नेपालमा वार्षिक १० लाख पर्यटक आइरहेको तथ्यांक प्रस्तुत गर्दै उनले गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ लाग्नुपर्ने धारणा राखे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पर्यटन नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार रहे पनि त्यसअनुरुप सरकारले बजेटमा प्राथमिकता दिन नसकेको बताए ।

अर्का टिप्पणीकर्ता जुद्धबहादुर गुरुङले प्रकृति र संस्कृति पर्यटनको महत्वपूर्ण आधार भएको बताउँदै नेपालमा यिनीहरूको समुचित व्यवस्थापन र उपयोग हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलिया, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा, पर्यटन पत्रकार मञ्च पोखराका अध्यक्ष दीपक परियार, सचिव सुरेन्द्र पौडेल, पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष खगराज आचार्य, चौबहादुर गुरुङलगायतले गण्डकी प्रदेशका पर्यटकीय सम्भावना सम्बन्धमा आ–आफ्ना धारणा राखे ।