साहित्य

‘जीबा’ बने लोकमा

धनराज गिरी/

मामा ‘खेम’ कडा थिए नियममा सच्चा थिए कर्ममा
यौटा वीर थिए पवित्र मनका लागे सधैं धर्ममा
खेतीको भरमा बसेर घरमा चल्दैन यो जिन्दगी
यस्तै सोच बनी गए पर गए बग्दै बनी गण्डकी  ।

आधा भारतको सुस्वाद बटुली फर्केर आए यिनी
कास्कीबाट झरे तरे सब नदी सन्झोट जग्गा किनी
खातामा तगडा हिसाब बलियो राख्थे सधैं लोकको
गर्थे काम पवित्र भित्र नरको सम्मान थ्यो तोकको ।

साझा भो परिवार ओट यिनको आचार्यको साथ भो
नौलो रीत अहो उदाहरण यो अग्लो भयो माथ त्यो
साथी जीवनकी सखी हरिकला ती जूनझैं घामझैं
मामा स्वच्छ बने भने सकलले यी खेम हुन् धामझैं

बाबा नन्द उता र पाठक यता दाहाल साथी बने
बारी खेत खने किसान तगडा प्यारा तिवारी भने
पुत्री एक दिदी परी रुपवती प्यारी तिवारी अहो
बाँकी पुत्र भए अनेक रुपका ठूलो भयो गोल यो ।

औतारी बबुवा चुरे सब घुमी ‘जीबा’ बने लोकमा
गोर्कीको घरमा पुगे शहरमा चर्चा चल्यो चोकमा
कान्छो भाइ गयो उतै गज़ब भो भोल्गा र इस्त्रा तरी
मौरी बन्न पुगे खटे खुब खटे आयो सुधा बेसरी ।

मामा यी ‘रसिया’ पुगे तर त्यहाँ काठे बिरालो भए
जाने हो घर नै भनी कर गरी नेपाल जप्दै रहे
दानी भाइ भए गरे खुब गरे भाषा र साहित्यको
सेवा भो जगमा सुनाम हुन गो जीबा बने दीप पो ।

श्रद्दाको दिन आज हो तिथि यही भान्जो अहो पग्लियो
मामा, शान्ति सधैं अनन्तपुरमा माथा अझै अग्लियो
आयो भाइ बनेर दीप घरमा सारा उज्यालो भयो
त्यो सारा तम जो थियो अघि थियो टाढा कता पो गयो ।

लेखी यो कविता पवित्र मनले श्रद्दा चढाएँ यहाँ
यस्तै काम गरी पढी अघि बढी धेरै पढाएँ यहाँ
नाता यो मनको बिचित्रपनको योगी तिवारी गिरी
हे मामा, सुन है कथा अनुजको हिड्दै छ माला भिरी ।