विचित्र संसार

व्यस्त सडकमा मान्छेको मासु बेच्न थालियो

काठमाडौं । व्यस्त सडकमा मान्छेको मासु बेच्न थालियो भने सबै छक्क पर्नु स्वभाविक नै हो । अझ त्यति मात्र नभई सडकको छेउमा मान्छेको मासु किनेर खान कसैले आग्रह गर्यो भने यो जत्तिको आश्चर्य जनक कुरा के हुन सक्ला ? बेलायतको राजधानी लण्डनको ट्राफेल्गर स्क्वायरमा यस्तै एउटा अचम्मको घटना घटेको छ । जसले विश्वभरि चर्चा पाएको छ ।

व्यस्त सडकमा रगतले लतपतिएका युवतीहरूको शरीरसँगै रहेका केही मानिसहरुले ती युवतीको जीउको मासु किन्न आग्रह गरिरहेका थिए । बिकिनी पहिरिएका र जीउमा रगत लतपतिएका केही अर्धनग्न युवतीहरुको शरीर सडकमा पल्टाइएको थियो । मानिसहरु त्यो दृश्यलाई हेरेर आश्चर्य मानिरहेका थिए । ती युवतीका जीउहरुमा ‘मान्छेको मासु’ भन्ने ट्याग लगाइएको थियो ।

वास्तवमा ती मानिसहरु साँच्चै मान्छेका मासु बेचिरहेका थिएनन् । तर त्यो भयानक दृश्य साँच्चिकै जस्तो देखिएको थियो । वास्तवमा जनावरमाथिको हिंसाको विरोधमा यस्तो गरिएको थियो । सडकमा त्यसरी लडाइएका राताम्मे शरीरहरु मृत शरीर नभई जीवीत युवतीहरु थिए ।

जनावरको प्राणको पनि मान्छेको प्राणको जत्तिकै मूल्य हुन्छ, जनावरलाई पनि बाँच्ने अधिकार हुन्छ भन्दै अभियानकर्मीहरुले साकाहारी बन्न आग्रह गर्दै जनचेतना जगाउन यस्तो अनौठो विधिको प्रयोग गरेका हुन् । डाइरेक्ट एक्सन एभ्रिह्वेयर नामक संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको बताईको छ । -एजेन्सी