गण्डकी प्रदेश

महाकवि देवकोटाको नाममा चोक

बागलुङ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा यहाँको एक चोकको नामाकरण गरिएको छ ।

बागलुङ नगरपालिका–३ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको चोकको नाम ‘महाकवि देवकोटा चोक’ राखिएको हो । नामाकरणमा धवलागिरि साहित्य प्रतिष्ठान बागलुङ र स्थानीयवासीले विशेष पहल गरेका थिए । गणेश मन्दिरदेखि बुद्धचोकसम्म नाली निर्माणको लागि बनेको उपभोक्ता समितिले पनि नामाकरणको निर्णय गरेको थियो ।

टोलवासीबाटै माग भएपछि ३ नं वडा कार्यालयले स्वीकृतिका लागि नगरपालिकामा सिफारिस गरेको थियो । नगरपालिकाको बैठकले चोकको नाम ‘महाकवि देवकोटा चोक’ राख्न स्वीकृत प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए ।

उनले सबै पक्षको सकारात्मक सहयोगका कारण नामाकरण सम्भव भएको उल्लेख गरे । ‘महाकवि देवकोटाको सम्मानमा चोकको नाम राखिएको हो,’ उनले भन्नुभयो, “भाषा, साहित्यको सेवा र प्रवद्र्धनमा यसले महत्व राख्दछ ।”

‘महाकवि देवकोटा चोक’ लाई विशिष्ट चिनारी दिने हिसाबले विकास गरिने उनको भनाइ छ । सडकको संरचना नबिग्रने गरी महाकवि देवकोटाको सालिक राख्नेदेखि अन्य संरचना निर्माण गर्ने लक्ष्य लिइएको छ । वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले महाकवि देवकोटाको नाममा चोकको नामाकरण गरिनु गौरबको विषय भएको बताए । उनले महाकविको नाममा गरिएको चोकको नामाकरणले कला, साहित्यको संरक्षण र उत्थानमा समुदायलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे ।