शिक्षा

विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक

काठमाडौं । पूर्वखोला गाउँपालिका–६, हेक्लाङका महिलाहरुले आफैँ कपडा सिलाएर सरकारी विद्यालयका विपन्न विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक (ड्रेस) उपहार दिएका छन् ।

सिलाइकटाइ तालीम लिँदै आएका ६२ जना महिलाले पाँच विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक सिलाएर दिएका हुन् । जनप्रिय माध्यमिक विद्यालयका ६१ जना, बालकल्याण प्राविका २५ जना, बालबालिकासहित प्राविका २१ जना, कालिका प्राविका ३४ जना र सत्यवति प्राविका २६ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक उपलब्ध गराएका छन् ।

विद्यार्थीलाई एक कार्यक्रमकाबीच पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले विद्यालय पोसाक हस्तान्तरण गर्दै लक्षित वर्गका लागि राम्रो काम गरेर हेक्लाङ एउटा नमूना बनेको विचार व्यक्त गरे ।

गाउँपालिकाले चालु आवमा दिएको रु चार लाखबाट हेक्लाङका ६२ जना महिलाले ६ महिने सिलाइकटाइ तालीम लिएका थिए । तालीम लिएका महिलाले गाउँकै एक सय ६७ बालबालिकालाई आफैले सिलाएर विद्यालय पोसाक दिएका हुन् । विद्यालय पोसाकबाट बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् ।

विद्यालय पोसाकको कपडा वडा कार्यालयले उपलब्ध गराएपछि महिलाले आफ्नो सीपलाई व्यवहारमै काम गरेर देखाउन यस्तो गरिएको महिलाहरुले बताए ।

बालकल्याण प्राविका प्रधानाध्यापक सन्तराम यादवले विद्यालय पोसाकबिना अधिकांश विद्यार्थी विद्यालयमा आउने गरेको बताउँदै गरीब भएकै कारण ड्रेस लाउन नसकेर विद्यालय नआउने समस्या अब समाधान भएको बताए ।