लुम्बिनी

एकल महिलाको तथ्याङ्क संकलन

बुटवल । बुटवल उपमहानगरपालिकाले नगरका एकल महिलाका लागि सीपमूलक र आयमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

उपमहानगरका प्रमुख शिवराज सुवेदीले उपमहानगरमा रहेका एकल महिलाको विस्तृत विवरणसहितको तथ्याङ्क समग्री शुक्रबार बुझ्दै एकल महिलाका लागि आवश्यकतानुसारका सीपमूलक कार्यक्रम सञ्चालन गरिने बताए ।

उपप्रमुख गुमादेवी आचार्यले नगरलाई लैंगिक हिंसामुक्त बनाउने अभियानस्वरुप महिलाका आर्थिक, सामाजिक अधिकारका क्षेत्रमा विशेष कार्यक्रम बनाइने बताए ।

उपमहानगरपालिकाको सहयोगमा मानवाधिकारका लागि महिला एकल महिला समूहले नगरभरिका एकल महिलाको तथ्याङ्क संकलन गरी नगरप्रमुख र उपप्रमुखलाई बुझाएको थियो । उक्त समूहमा रहेका नौ महिलाले गत वैशाख १ गतेदेखि नगरका एकल महिलाको तथ्याङ्क संकलन गरेको समूहका अध्यक्ष पवित्रा खनालले जानकारी दिए ।

समूहका सचिव नारायणी पाटा मगरले एकल महिलाका समस्यासमेत अभिलेखमा समावेश गरिएको बताए । नगरमा १८ देखि १०७ वर्ष उमेर समूहका एकल महिला रहेको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा धेरै एकल महिला वडा नं ११ मा ८८५ जना रहेको समूहका अर्का सदस्य अरुणा श्रेष्ठले जानकारी दिए । सबैभन्दा कम ६३ जना वडा नं ४ मा छन् ।

एकल महिलामा आर्थिक अवस्था कमजोर, अंशबन्डा नपाइने, नागरिकता बनाउन समस्या हुने, छोराछोरीलाई छात्रवृत्ति, शिक्षा, स्वास्थ्य रोजगारीलगायत साझा समस्या रहेको अभिलेखमा समेटिएको छ । कतिपय एकल महिला भेदभावको शिकार भइरहेको शिक्षा र समाजबाट समेत वञ्चित हुनुपर्ने अवस्था रहेको तथ्याङ्क संकलनमा खटिएकी पाटा मगरले बताए ।

सो अवसरमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसी, प्रवक्ता रामप्रसाद रेग्मी तथा कार्यपालिका सदस्य र सामाजिक विकास शाखाका प्रमुख भुवाप्रसाद लुइँटेललगायतले तथ्याङ्कले योजना निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए।