कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाबाट दुई वटा विधेयक पारित

सुर्खेत । कर्णाली प्रदेशसभाले आज दुई वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभामा सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘गाउँसभा र नगरसभाका कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ पारित गरियोस् भनी सभामा प्रस्ताव गरेका थिए । सभामुख राजबहादुर शाहीले कानूनमन्त्री भण्डारीको प्रस्ताव सभामा राखेसँगै सो विधेयक सर्वसम्मतले पारित भयो ।

त्यस्तै कानूनमन्त्री भण्डारीद्वारा पारितका लागि प्रस्तावित ‘कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी कानून तर्जुमा गर्न बनेको विधेयक, २०७५’ पनि सभाबाट सर्वसम्मतले पारित भएको छ । मन्त्री भण्डारीले प्रदेश मुख्य न्यायाधिवक्ता महान्यायाधिवक्ताको मातहत हुने व्यवस्था भएकाले बजेट अभावका कारण छुट्टै भौतिक संरचना नहुने सरकारको पूँजीका रुपमा रहने बताए ।

प्रतिपक्षी दलका सचेत शाहीको खबरदारी

विधेयकको छलफलमाथि भाग लिँदै प्रदेशसभा प्रतिपक्षी दलका सचेतक हिमबहादुर शाहीले नेपाली काँग्रेस कर्णाली प्रदेश सरकारको पर्ख र हेरको नीतिमा अघि बढिरहेको बताए । कर्णाली सरकारले काँग्रेसलाई जनतामाँझ जान बाध्य बनाएको तर्क गर्दै सचेतक शाहीले भने, “रातो किताब ल्याइसकेको यो सरकारले बजेट ब्रेक डाउन गरेर सेतो किताब अविलम्ब ल्याउनु पर्दछ ।”

संसद्मा बलात्कृत किशोरीलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण

यही असार १७ गते आइतबारका दिन पश्चिम सुर्खेतको बराहताल गाउँपालिका– ६ की १५ वर्षीय किशोरीमाथि भएको सामूहिक बलात्कारका सवालमा सभामै प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ ।

प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि ३०/४० किलोमिटर मात्र टाढा रहेको बराहतालमा छाउगोठमा बसेकी किशोरमाथि सामूहिक बलात्कार हुनु निकै लज्जास्पद र निन्दनीय घटना भएको बताए ।

सामूहिक बलात्कारका दोषीलाई तत्काल कानूनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न उनले सरकारसँग माग राखे ।

त्यसका साथै उनले छाउ गोठ हटाउने अभियान सञ्चालन गर्न र पीडित बालिकालाई मनोवैज्ञानिक असर नपर्ने गरी उपचार गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले पीडितको साथी निर्मलासहित सामूूहिक बलात्कारमा संलग्न जनक शर्मा, चेतन गिरी र पद्म गिरीलाई मंगलबार पक्राउ गरिएको बताए । पीडित किशोरीको साथी शर्माको योजना एवं मिलेमतोमा उनीमाथि बलात्कार भएको आरोपमा निर्मलासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी निरीक्षक रेग्मीले बताए ।