पर्यटन/संस्कृति

सरकारलाई सफल बनाउन कर्मचारी वर्गको भूमिका महत्वपूर्ण – मन्त्री अधिकारी

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकका तीनै तहका सरकारलाई सफल बनाउन कर्मचारी वर्गको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

गण्डकी प्रदेशको राजधानी पोखरामा आज आयोजित प्रदेशस्तरका विकाससँग सम्बन्धित कार्यालयका प्रमुखलाई आज निर्देशन दिँदै उनले संविधान पूर्णरुपले कार्यान्वयन भइसकेको वर्तमान अवस्थामा विकास निर्माणका कामलाई छिटोछरितो बनाएर जनतालाई अनुभूति गराउनुपर्नेमा जोड दिए ।

प्रदेश कार्यालयको क्षमता विकास गर्नु पहिलो आवश्यकता भएको बताउँदै मन्त्री अधिकारीले वर्तमान संक्रमणकालीन अवस्थामा टीकाटिप्पणीभन्दा पनि समन्वय, समझदारीको आवश्यकता रहेको उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा खानेपानी, सडक, कृषि, यातायात, शिक्षा, स्वास्थ्य, पशुविकास लगायतका विभिन्न कार्यालयका प्रमुखले क्रमागत योजनाका लागि बजेट कम भएको, संघ, प्रदेश र स्थानीय तहको सम्बन्धमा स्पष्ट कार्यविधिको अभावका कारण विकास निर्माणका कार्यक्रमले सोचेजस्तो गति लिन नसकेको धारणा राखेका थिए ।