कुराकानी

सरकारले विकास बैंकहरुलाई सौतेलो व्यवहार गरेको छः सिइओ, राजेन्द्र पौडेल (कुराकानी)

काठमाडौं । बैंकिङ् क्षेत्र रुपियाँ पैसाको कारोबार हुने क्षेत्र हो । देशको अर्थतन्त्रमा यो क्षेत्रले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो क्षेत्र आफैँमा एउटा जोखिमयुक्त क्षेत्र पनि हो । बैंकिङ् क्षेत्रसँग नागरिक देखि सरकारसम्म प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न रहदैँ आएका छन् । पछिल्लो समय बैंक तथा बित्तिय संस्थाहरुको संस्थापनाको क्रममा तिब्रता आएको छ । संख्यात्मक रुपमा बैंक संस्थापनामा तिब्रता आएपनि गुणात्मक रुपमा भने परिवर्तन आउन सकेको छैन् । यो क्षेत्रमा प्रवेश गर्नुभन्दा पनि टिक्नु ठूलो कुरा हो । यसै बैंकिङ्ग स्थापनाको भिडमा वि.सं. २०६१ सालमा स्थापना भएको साविकको बागेश्वरी र हालको सांग्रीला बैंक लगायत अन्य बैंकिङ् क्षेत्रको सेरोफेरोमा रहेर २५ बर्ष लामोे बैंकिङ्ग अनुभव बोकेका १६ बर्षदेखि सांग्रीला बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्र प्रसाद पौँडेलसँग सूर्यखबर डटकमले गरेको कुराकानी यस्तो छः–

तपाई बैकिंङग क्षेत्रको अनुभवी ब्यक्ती हुनुहुन्छ, सिइओ भनेको के हो जस्तो लाग्छ ?
–सिईओ भनेको चाहिँ ठेट भाषामा भन्दा ड्राईभर हो, जसले कुनै पनि संघसंस्थालाई गन्तब्यमा पुर्याउने कि बाटोमा नै छाड्ने भन्ने जिम्मेवारी बोकेको हुन्छ, सिईयोलाइ मापन गर्ने मुख्य आधार भनेको संस्थालाई त्यसले दिलाएको व्यवस्थापन, त्यसको नियत, नैतिकता वा अनुभवले त्यो सफल चालक हो या होइन, सफल पाईलट हो या होइन भनेर सिइयोको नेतृत्वमा संस्थाले प्राप्त गरेको प्रतिफलबाट थाहाँ हुन्छ, उसले विभिन्न निकाय तथा नियोगहरुसँगको समन्वयात्मक भूमिका र समझदारीबाट थाहा हुन्छ त्यो असल ड्राइभर अर्थात असल सिईयो अर्थात यसो भनौँ, संस्था हाक्ने व्यक्ती होकी होइन भनेर ।

बिभिन्न समयमा बैंक लगायत संस्थाका सिइओहरु विवादमा तानिन्छन्, यसबिषयमा चाहिँ तपाई के भन्नुहुन्छ ?
–म तपाई अथवा तपाईको मिडियालाई सम्भवत कुनै पनि संस्थाको सिइयोले नभनेको कुरा भन्छु, कुनै पनि संस्थाको बिजारोपण अर्थात संस्थापना कुन उद्वेश्य, लक्ष्य र मार्ग निर्देशनबाट भएको हो, त्यसैले नै उक्त संस्थाको गन्तब्य निर्धारण गर्दछ । यदि कुनै संस्था व्यक्तीगत स्वार्थ अर्थात कसैसँग समन्वय तथा समझदारी नगरी मनपरी हिसाबले व्यक्तीगत लाभको लोभले खोलीन्छन् भने त्यस्ता संस्थाहरु दीर्घकालिन रुपमा अगाडी बढ्दैनन । तत्काल अगाडी बढेपनि दीर्घकालमा त्यस्ता संस्थाको प्रगतीमा लगाम लाग्छ । बैंकीङ्ग क्षेत्रमा मात्र नभई सबै व्यावसायिक संघसंस्थामा हामी बिउचाहिँ धान रोप्छौँ, बालीचाहिँ गहुँ खोज्छौँ ।
सबैभन्दा ठूलो कुरा बिजारोपण हो । कुनै पनि व्यावसायिक संघसंस्था कुन लक्ष्य, उद्वेश्य, नैतिकताले सुरुवात गरिएका छन्, त्यसले नै संस्थाको दुरगामी प्रभाव र प्रतिफल निर्धारण गर्दछ । जुन तपाईले भन्नुभयो धेरै बैंकिङ्ग संघसंस्थाहरु कारवाहीमा परे, विवादमा तानिए, त्यस्तो हुनुको मुख्य कारण ती संस्थाहरुको बिजारोपण राम्रो थिएन । अर्कै लक्ष्यको बिजारोपण भएर ती संघसंस्थामा अनपेक्षित प्रतिफल र प्रभाव देखिएको हो ।

भनेपछि अब चाहिँ ती संघसंस्थाहरु अनपेक्षित नतिजाबाट सुध्रिए ?
–हिजोको दिनमा नियमनकारी निकायको कमजोर उपस्थितीले गर्दा पनि त्यस्तो समस्या देखिएको हुनसक्छ । अब त्यस्तो हुनै सक्दैन भनेर ठोकुवा गर्नु गलत हुन जान्छ । तर वर्तमान अहिलेको अवस्थामा नेपाल राष्ट्र बैंकबाट नीति, नियम तथा निर्देशनहरु खुला रुपमा आईरहेको अवस्था छ । ती नीति, नियम तथा निर्देशनहरु कार्यान्वयनका लागि निरीक्षणलाई पनि कडाई गरिएकाले संस्थामा विगतजस्ता ठूलठूला विवाद तथा समस्याहरु चाहिँ धेरै हदसम्म कम हुन्छन् ।

अब नेपाल राष्ट्र बैंकले लिने नयाँ मनिटरी पोलिसीको अवधारणा अनुसार नयाँ कार्यदिशा निर्धारण गरेर यस बैंकले नयाँ पाईला अगाडी सार्दैछ । अब यो बैंक ‘क’ वर्गको ईजाजत प्राप्त गर्ने कमर्सियल बैंकको सूचीमा चाडैँ रुपान्तरण हुदैँछ र त्यसका लागि राष्ट्र बैंक लगायतका सरकारी नियमन निकायबाट सहयोगको अपेक्षा गरेको छु ।

 

हिजो जस्तो व्यक्तीवादी मनपरी नीति नियमहरुमा लगाम लागिसकेको र अब संस्थावादी अर्थात राष्ट्र बैंक मातहतका सबै संघसंस्थालाई न्यायोचित किसिमका आधुनिक ऐन नीतिहरु निर्माण हुदैँ गएका छन् । मार्केटले खोजेको चिजहरु, मार्केटलाई दिन खोजेका सेवासुविधाहरुमुखी ऐन नियमहरु ल्याउने नियमन निकायहरु बैंङ्कर्स एसोसिएसन, विकास बैंकहरुको छाता संघसंगठन, फाईनाईन्स एसोसिएसनसँग पनि सुझाव सल्लाह लिएर संस्था सञ्चालन गर्न सकिन्छ । त्यसकारण हिजोको जस्तो मनपरी व्यक्तीवादी नीति, नियम बनाएर केही समय चलेका केही संघसंस्था पलायन भईसकेका छन् । केही जसो बन्द अवस्थामा छन् । अब जुन संस्थाहरु अहिले सञ्चालनमा रहेका छन्, तिनिहरु सबल, सफल र सुदृढ दिशातिर उन्मुख भईरहेका छन् । यो प्रतिस्पर्धामक समयमा कहिलेकाही अस्वस्थ प्रतिस्पर्धा हुन्छ, त्यसलाई चिर्दै अगाडी बढ्नुपर्छ र अघि बढ्ने संस्थाले सफलता पनि प्राप्त गर्छ । त्यसकारण हिजोको जस्तो बैंक तथा बित्तिय संस्थामा सहकार्य तथा कारोबार गर्न डराउनुपर्ने अवस्था अब रहेन, छैन् ।

 

राष्ट्र बैंकले बैंकहरुको न्यूनतम पूँजी बढाएर ८ अर्ब पुर्याएको छ, त्यसलाई पनि बढाएर १६ अर्ब बनाउने कुरा उठिरहेको छ यसबारे के भन्नुहुन्छ ?
–जून अहिलेको बैंक तथा वित्तिय संस्थाहरुको न्यूनतम पुँजी छ, त्यहीँ पनि बढी हो । देशमा त्यो क्यापिटल अनुसारको स्रोतसाधनको कमी छ, तापनि हामी सबैले न्यूनतम क्यापिटल पुर्याईसकेका छौँ । त्यसको शत प्रतिशत बढाउने कुरा जून उठिरहेको छ, त्यो राम्रो कुरा होइन । त्यस्तो अवधारणाले बैंक तथा वित्तिय संस्थाहरुमा नकारात्मक असर पर्नेमा दुइमत नै छैन् । त्यसकारण राष्ट्र बैंक लगायत नियमन निकायहरुले देशको अर्थतन्त्रको यही अवस्थामा न्यूनतम पूँजी बढाउने अवधारणा सर्वदा बैंक तथा बित्तिय संघसंस्थाहरुको विरुद्ध छ अर्थात गलत छ । यदि जबर्जस्ती पुँजी बढाईयो भने बैंकिङ्ग क्षेत्रमा क्रयासको अवस्था समेत सिर्जना हुन जान्छ ।

मर्जर एक्वीजीसनको अवधारणा पनि आईरहेको छ ? पूँजी बृृद्धिको अवधारणा भन्दा यो ठिक छ अथवा गलत ?
–नेपालको समग्र आर्थिक तस्बीर हेर्दा, बैंक मर्ज हुनु धेरै राम्रो कुरा हो । सानो अर्थतन्त्र भएको देशमा धेरै बैंकहरुको भएको कारणले बैंक मर्जर एक्वीजिसनको अवधारणा एकदम राम्रो हो । यस्तै सानो अर्थतन्त्रमा पूँजी नै बढाएर बढी पुूँजी पुर्याउन खोजियो भने त्यसको दुरगामी प्रभाव डरलाग्दो हुने कुरामा विवाद छैन् ।

पछिल्लो समय के बैंकिङ्ग क्षेत्रमा राजनीति भएको हो ?
–व्यक्तीगत रुपमा म निस्वार्थ बैंकिङ्ग कारोबारहरु सञ्चालन गर्नुपर्छ भन्ने मान्यतामा आधारीत व्यक्ती हो । बैंक तथा बित्तिय संस्थामा त्यस्तो राजनीतिक प्रभाव परेको जस्तो त मलाई लाग्दैन । हुन सक्छ, अपवादको रुपमा केही व्यक्तीहरु राजनीतिक प्रभावमा परेर बैंकिङ्ग क्षेत्र दुषित बनाईरहेका । राजनीतिक दबाब अथवा प्रभावमा परेर निर्णयहरु गर्नु सदासर्वदा गलत हो । त्यस्तो काम गर्नै हुदैँन । नेपालको बैंकिङ् क्षेत्र राजनीतिक क्षेत्रसँग समाहित भएको व्यवसाय भएका कारणले बैंकिङ क्षेत्र राजनीतिबाट टाढा हुन सक्दैन । तर कुरा के हो भने बैंकिङ् क्षेत्रका कामकारवाहीमा राजनीतिक प्रभाव भने रत्तिभर पनि पर्नु हुदैँन ।

यो तपाई कार्यरत सांग्रीला विकास बैंकको बारेमा बताईदिनुस न ?
–सांग्रिला विकास बैंक साविकको बागेश्वरी देशको पश्चिमी नेपालगञ्जबाट सुरुवात भएको थियो । सुरुवातमा बागेश्वरी बैंक रु. १ करोड ४० लगानिबाट सुरुवात गरिएको थियो । ०६४ सालमा यो बैंक कास्कीको पोखरामा सांग्रीला विकास बैंकको नामबाट खोलियो । त्यसको पूँजी रु. ३ करोड ९९ लाख थियो । यी दुइटा बैंक मर्जर एक्वीजीसनको योजना अनुसार खोलेका थियौ । र ०७१ सालमा प्रत्येक बैंकबाट बत्तीस बत्तीस करोड पूँजी पुर्याएर बागेश्वरी र सांग्रीला बैंकलाई हामीले मर्ज गर्यौ । यसलाई हामी ऐतिहासिक मर्ज पनि भन्छौँ किनभने यो मर्ज सम्पूर्ण ईन्डिकेटर बराबर गरेर गरेको मर्ज हो । यस्तो मर्ज नत यसबाहेक अहिलेसम्म भएको छ नत निकट भबिष्यमा हुन सक्छ ।
२ बर्ष अगाडी हामीले ६४ करोडमा मर्ज गरेका थियौ । ४ बर्षको अवधिमा हामीले ४ गुणा सेयर पुजी बृद्धि गर्यौ । निक्षेपको हिसाबमा कुरा गर्नुहुन्छ भने मर्ज हुदाँखेरी हाम्रो ६ अर्ब निक्षेप थियो । अहिले करिब हाम्रो १६ अर्ब निक्षेप रहेको छ । अहिले हाम्रो सेयर पूँजीको अवस्था १३ अर्ब ५० करोडको हाराहारीमा रहेको छ । गत चैत मसान्तमा हाम्रो करिब २५ करोड खुद मुनाफा थियो । असार मसान्तसम्ममा हामी करिब ४० करोड मुनाफा गर्ने हिसाबले अगाडी बढेका छौँ । सांग्रीलाको अहिले देशभर ४९ वटा शाखा सञ्चालनमा रहेका छन् । आगामी आर्थिक बर्षमा हामीले ८८ वटा शाखा विस्तार गर्ने योजना बनाएका छौँ । हालै मात्रै बैंकको साधारणसभा सम्पन्न भयो । २.५ प्रतिशत बोनस सेयर र ९.३ प्रतिशत नगद लाभांश स्वीकृत भएको छ ।
अब नेपाल राष्ट्र बैंकले लिने नयाँ मनिटरी पोलिसीको अवधारणा अनुसार नयाँ कार्यदिशा निर्धारण गरेर यस बैंकले नयाँ पाईला अगाडी सार्दैछ । अब यो बैंक ‘क’ वर्गको ईजाजत प्राप्त गर्ने कमर्सियल बैंकको सूचीमा चाडैँ रुपान्तरण हुदैँछ र त्यसका लागि राष्ट्र बैंक लगायतका सरकारी नियमन निकायबाट सहयोगको अपेक्षा गरेको छु । मेरो १६ बर्षको कार्यकालमा मलाई राष्ट्र बैंक, नेप्से, मिडियाकर्मी साथीहरु, अन्य बैंक तथा वित्तिय संस्थाहरुले सहयोग तथा हौसला प्रदान गरेको छु त्यसका लागि म सबैप्रति आभारी छु । मेरो १६ बर्षे सेवाको कार्यकाल पार गरेर नयाँ कार्यकाल सुरु हुदैँछ । अहिलेसम्म सहकर्मी साथीहरुबाट पनि धेरै सहयोग मिलेको छ । अझैँ सबैबाट साथ सहयोगको अपेक्षा गर्दै नयाँ तरिकाबाट अगाडी बढ्दैँछौ । बैंकको सेयर संरचना ७०/३४ छ । गतबर्षको सेयर संरचना ५१/४९ थियो । सञ्चालक समितिको संरचना संस्थापनबाट ३ जना, साधारणबाट ३ तथा १ जना बिशेष गरी ७ सदस्यीय छ ।
राष्ट्रबैंकले तोकेको पूजीँ बैंकले पूरा गरिसकेको हामीले साधारणसभामा जानकारी गराईसकेका छौ ।

झन्डैँ अढाई दशक बैंकिङ् क्षेत्रको अनुभव बटुलिसकेको हिसाबमा भन्नुपर्दा यो क्षेत्रमा केके कमिकमजोरी छन् ?
–यो क्षेत्रमा धेरैँ कमिकमजोरी रहेका छन् । जसमध्ये हामी अस्वस्थ प्रतिस्पर्धामा गएर ग्राहकहरुको सही पहिचान गर्न नसक्दाखेरी बैंक तथा वित्तिय संस्थाहरु अप्ठ्यारोमा पर्ने खतरामा छन् । वास्तविक धरातललाई नहेरेर अर्काको लहलहैमा लागेर देश दौडाहामा रहेका बैंकहरु धरासायी बन्दैँ जान्छन्, त्यसकारण सबै बैंक तथा वित्तिय संघसंस्थाले स्वस्थ प्रतिस्पर्धामा आउनुपर्छ । राष्ट्र बैंकको लगानि परिधिभित्र रहेर लगानि गरियो भने त्यो सुरक्षित हुन्छ तर पछिल्लो समय धेरैँ बैंकहरुको लगानि आफ्नै मनपरीको हिसाबले विकेन्द्रीकरण हुदैँ गएको छ ।
ऋण प्रवाहमा कमर्सियल भन्दा डेभलमेन्ट बैंकको जोखिम कम रहेको छ । किनभने कमर्सियल बैंकले बिना धितो ऋण दिन्छ तर डेभलमेन्ट बैंकले विनाधितो ऋण प्रवाह गर्दैन् । हामी विना धितो कर्जा नै दिँदैनौँ किनभने प्रत्येक नेपालीसँग माटो छ, हिमालमा, पहाडमा होस् या तराइमा । त्यो माटो धितो राखेर जोकोही पनि आफ्नो व्यापार व्यावसाय गर्न चाहान्छन् भने त्यो एकदमै सुरक्षित हुन्छ । तर कुनै परिस्थिती परिवेशले बिग्रन सक्छ तर नियत खराब हुन्छ जस्तो चाहिँ लाग्दैँन । कोही नराम्रो नियतका व्यक्ती पनि हुन्छन् । त्यस्ता व्यक्तीको पहिचान जरुरी छ ।
त्यस्तो व्यक्तीको सही पहिचान हुने हो भने, बैंकरहरुको नियत राम्रो हुुने हो भने र भ्रष्टाचारलाई बैंकिङ् क्षेत्रबाट निमिटान्न पार्ने हो भने बैंक तथा बित्तीय संस्था कहिल्यै बिग्रिदा पनि बिग्रिदैँन, घाटामा पनि पर्दैन् ।

बैंकको उच्च ओहोदाँका कर्मचारीतह सम्मको पहुँचका आधारमा ऋण लिने दिने समाचार आईरहेका हुन्छन्, यसबारे के भन्नुहुन्छ ?
–मैले अघि पनि भने नि नियम नैतिकताको कुरो सबभन्दा ठूलो कुरा हो । जून संस्थामा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको नैतिकता खराब हुन्छ त्यो संस्था कदापि अगाडी बढ्न सक्दैन् । उच्च पदस्थ कर्मचारीमा प्रतिफल कसरी आउँछ, विभिन्न सिर्जनशीलता जस्तो नयाँ नयाँ प्रणालीको खोजी, संस्था कसरी अगाडी बढ्छ । पछिल्लो समय देश संघीयतामा गएको छ । राम्रो गाउँ ठाँउको पहिचान गरेर शाखाहरुको विस्तार गर्ने, त्यहाँ मान्छेहरुलाई कसरी बैंकिङ् कारोबारसँग आकर्षित गर्ने जस्ता नयाँ नयाँ सिर्जनशील कुराहरुको साटो उल्टो नाता गोता पहुँचको आधारमा ऋण दिन तिर लाग्ने उच्च पदस्थ कर्मचारीहरु संस्थामा कार्यरत छदाँसम्म त्यो संस्था अगाडी बढ्न सक्दैँन । उच्च पदस्थ कर्मचारीले ईमान्दार हुनुपर्छ ।
गाउँ घरतिर बैंकिङ् पहुँच पुर्याउन सकियो भने त्यतातिरका ग्राहक ईमान्दार हुन्छन् । ऋणको जोखिम कम हुन्छ । थोरैँ ऋण लिएका हुन्छन् । समाजमा तिरस्कृत हुने डरले पनि ऋण चुक्ता गर्न ग्रामिण क्षेत्रका ग्राहकले आलटाल गर्दैनन् । त्यसकारण मैले भन्न खोजेको के हो भने कुनै पनि संस्थामा कार्यरत उच्च पदस्थ कर्मचारीको नैतिकता असल हुनुपर्छ । कर्मचारीको नैतिकता उच्च अनि असल भयो भने संस्थाको विस्तार र विकासमा समय लाग्दैँन ।

तपाईहरुले सरकारबाट कस्तो साथ सहयोग पाउनुभएको छ र कस्तो अपेक्षा गर्नु भएको छ ?
–सडक विभागले एउटा टेण्डर निकाल्यो भने वाणिज्य बैंकको मात्रै बैंक ग्यारेन्टी स्वीकारेको अवस्था छ । यस्ता विभिन्न संस्थाहरुले निक्षेप स्वीकार गर्दाखेरी वाणिज्य बैंकको मात्र स्वीकार गरेको अवस्था छ । हिजो कमर्सियल बैंकको २ अर्बको थियो र अहिले सांग्रीला बैंक साढेँ २ अर्बको भईसकेको छ । सांग्रीला एउटा क्षमताको आधारमा हेर्दा पनि हिजोका कमर्सियल बैंक भन्दा ठूलो भईसकेको छ । भनेपछि हाम्रो क्षमता अभिवृद्धिको अवमूल्यन गरिएको छ । सरकार लगायत नियमन निकायले नीति नियम परिर्वतन गरेर हामीले पाउने सेवासुविधाबाट बञ्चित गराएको छ । हाम्रो क्षमता र दायित्व अनुसार व्यावसायिक कारोबार गर्न दिनुपर्यो । सरकारी निक्षेप परिचालन गर्न दिईयो भने आर्थिक क्षेत्रमा हाम्रो पनि योगदान रहन्छ । नेपाल सरकारले हामी(विकास बैंकहरु) लाई सौतेलो व्यवहार गरेको छ ।
हामी(विकास बैंकहरु)ले राष्ट्र बैंकले दिएका सुविधाहरु उपयोग गर्न पायौँ भने निकट केही बर्षमैँ कमर्सियल बैंक भन्दा सबल र सक्षम भएर देखाउन सक्ने अवस्था छ । हामी(विकास बैंकहरु) लाई नेपाल सरकारले राष्ट्र बैंकले दिएको नीति नियमको परिधिभित्र रहेर सेवा प्रवाह गर्न पाउने अवस्था खुला गरिदियो भने हामी(विकास बैंकहरु)ले ठूलो फड्को मार्न सक्छौँ । नेपाल सरकारका स्वामित्वमा रहेका जस्तो टेलिकम, आयल निगम, जस्ता संघसंस्थाहरुसँगकोे विकास बैंकहरुका लागि कारोबारको दायरा खुला गरिदियो भने हामी(विकास बैंकहरु)ले पनि अगाडी बढ्ने अवस्था सिर्जना हुन्छ र सरकारीका स्वामित्वका संस्थान तथा संस्थालाई सेवा प्रवाहमा प्राथमिकता मिल्छ र छिटोछरितो अर्थतन्त्रको विकास भई देश विकासमा पनि सहयोग पुग्छ । त्यसकारण सरकारले हामी(विकास बैंकहरु)लाई पनि राष्ट्र बैंकको नीति नियम अनुसार अगाडी बढाउन सरकारले भूमिका खेलेर कारोवारमा स्वतन्त्रता प्रदान गर्नुपर्छ ।

बैंकबारे केही पनि थाहा नभएका सर्वसाधारणलाई के भन्नुहुन्छ ?
–बैंकिङ् क्षेत्रबारे अशिक्षित जनतालाई जानकारी गराउनु सरकारको दायित्व हो । हाम्रै छिमेकी राष्ट्र भारतको एउटा चर्चित टेलिभिजनमा वित्तिय साक्षरताबारे एउटा कार्यक्रम आउछ तपाईले पनि हेरिरहनुभएको छ । त्यस्तो वित्तिय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्ने दायित्व नेपाल सरकार र नेपाल राष्ट्र बैंकको हो । हामी पनि त्यसमा भागेदारी हुन्छौँ । उहाँहरुले हामीलाई पनि अफर गरोस न । जस्तो डेभलमेन्ट बैंक एसोसिएसन मार्फत सरकारले हामीलाई अफर गर्यो भने हामी हातेमालो गर्न तम्तयार छौँ ।