समाचार

जडीबुटी र लागुऔषधको कारोबार गर्ने प्रहरीको फन्दामा

ललितपुर । प्रहरीले अवैध जडीबुटी र लागुऔषधको कारोबार गर्नेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले यो साता मात्रै लागुऔषध कारोबार गर्ने तीन र अवैध जडीबुटीसहित दुई जनालाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले पक्राउ परेका पाँचै जनाको अनुसन्धान भइरहेको बताए । उनले भने, “हामीले विशेष सूचनाका आधारमा अनुसन्धान गरेर पक्रिएका हौँ, थप अनुसन्धान भइरहेको छ ।” जडीबुटी कारोबारको घटनामा प्रहरीले अनुसन्धानका लागि सम्बन्धित जिल्ला वन कार्यालयमा मुद्दा पठाएको छ ।

प्रहरीले गत २० गते दिउँसो धोबिघाट बस्दै आएका सोम गोले, बानेश्वर बस्ने अन्दीप महर्जन, कालोपुल बस्ने सुदीप बस्नेतलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । प्रहरीले उनीहरुबाट लागुऔषध पनि बरामद गरेको छ । बरामद भएको लागुऔषधमा फेनारगन एम्पल २३६, डाइजापाम एम्पल १८७, नुर्फिन १७७ थान रहेको छ ।
परिसर र अपराध शाखा जावलाखेलको टोलीले पाँचऔँले दुई किलोग्रामसहित ललितपुर महानगरपालिका–९ बालकुमारीबाट जुम्ला सिंजा गाउँपालिका घर भएका कोटेश्वर बस्दै आएका दिलबहादुर बुढा र यार्सागुम्बा पाँच सय ग्रामसहित धादिङ नीलकण्ठ नगरपालिका–१ घर भएका बूढानीलकण्ठ–१० बस्ने पूर्णकुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।