प्रदेश 1

प्रमुख निर्वाचन आयुक्तद्वारा भवन उद्घाटन

उदयपुर, गाईघाट । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आज जिल्ला निर्वाचन कार्यालय उदयपुरको नयाँ भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, “सरकारले देशका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय भवन स्थापना गर्ने नीति लिएको र सोहीअनुरुप उदयपुरमा पनि नयाँ भवन स्थापना गरिएको बताए ।

आगामी आर्थिक वर्षभित्र बाँकी रहेका जिल्लामा पनि निर्वाचन कार्यालयको भवन स्थापना गर्दै लगिने डा. यादवले बताए । विसं २०७३ भदौ १ गते निर्माण कार्य शुरु भएको उक्त भवन हालै सम्पन्न भएको हो । रु एक करोड २२ लाख ६८ हजार २७५ को लागतमा तीन तलाको उक्त भवन निर्माण भएको हो ।

चौध कोठा रहेको उक्त भवन भूकम्प प्रतिरोधात्मक र जिल्लाकै सरकारी कार्यालयमध्ये उत्कृष्ट रहेको जिल्ला निर्वाचन अधिकृत एकबहादुर बस्नेतले बताए ।