प्रदेश 1

राष्ट्रपति महिला उत्थान कार्यक्रम

इटहरी । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत स्थानीय तहका जननिर्वाचित प्रतिनिधिका लागि लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकदिने अभियान कार्यक्रम सुनसरी जिल्लाको इटहरीमा आज प्रारम्भ गरिएको छ ।

महिला तथा बालबालिका विभागको आयोजनामा भएको उक्त अभियान कार्यक्रममा गाउँघरमा नै कसरी जनप्रतिनिधिमार्फत विभिन्न नामबाट हुने गरेको लैङ्गिक विभेद एवं हिंसालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सचेत र सक्षम जनप्रतिनिधि तयार पार्नु उक्त अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।

समाजमा विद्यमान लैङ्गिक हिंसा महिला वा पुरुषबाट चलिनै रहेकाले यसलाई कसरी कम गर्ने वा न्यूनीकरण गर्ने भन्ने विषयमा जननिर्वाचित पदाधिकारीद्वारा गाउँघरमा सचेतनापूर्वक अघि बढाउन सकियो भने भयावह अवस्थामा रहेको लैङ्गिक हिंसामा कमी ल्याउन सकिन्छ भन्ने भावनाले प्रेरित भएर यो कार्यक्रम अघि बढाएको पनि जानकारी दिइएको छ ।

कार्यक्रमको संयोजक एवं इटहरी उपमहानगरपालिकाको उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षमा भएको उक्त अभियानमा जिल्ला समन्वय समिति सुनसरीको उपाध्यक्ष कृष्णकुमारी विश्वकर्माले पुरुष वा महिलाबाट हुने गरेको हिंसा चाहे त्यो पुरुषले महिलामाथि गर्ने र महिलाले पुरुषमाथि गर्ने हिंसा दुवै मानव अधिकार उल्लङ्घनको जघन्य अपराध भएकाले यसमा कमी ल्याउन सबैले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्न जरुरी छ भने ।

उक्त अभियान कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि रिजाल, महिला तथा बालबालिका विभागका अधिकृत हरिप्रसाद अधिकारी, दुहवी नगरपालिकाका उपप्रमुख सुनिता दाहाल, बराहक्षेत्र नगरपालिकाका उपप्रमुख कमला मगर, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का र सुनसरी महिला तथा बालबालिका कार्यालयकी प्रमुख निर्जला चुडाललगायतले बोल्नुभएको थियो ।

इटहरी उपमहानगरपालिका तथा दुहवी, रामधुनी र बराहक्षेत्र नगरपालिकाका जननिर्वाचित पदाधिकारीको सहभागिता रहेको अभियान कार्यक्रममा बोक्सी हुँदैन भन्ने अग्नि दहन चलचित्रसमेत प्रस्तुत गरी गाउँघर र समाजमा विद्यमान बोक्सी प्रथाविरुद्ध कसरी सचेत रहने भन्ने ज्ञानसमेत दिने कार्यक्रम अभियानमा समावेश गरिएको छ ।