बाग्मती

बेलकोटगढी खुला दिसामुक्त घोषणा

नुवाकोट । यहाँको बेलकोटगढी नगरपालिकालाई बिहीबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र भएको घोषणा गरिएको छ । बेलकोटगढीको घोषणाले जिल्लाका सबै स्थानीयतह खुला दिसामुक्त र १२ मध्ये सात स्थानीयतह पूर्ण खोपयुक्त घोषणा भएका छन् । बेलकोटगढी नपाको केन्द्र बाघखोरमा आयोजित कार्यक्रममा नगरभित्रका नौ हजार ८३ परिवारमध्ये सबैको घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांकको आधारमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले खुल्ला दिसामुक्त क्षेत्र भएको घोषणा गरे ।

स्वास्थ्य कार्यालयको तथ्यांकको आधारमा नगरमा रहेका सबै बालबालिका तोकिएको खोपको पहुँचमा रहेको प्रतिवेदनअनुसार पूर्णखोपयुक्त भएको घोषणा गरिएको हो ।

प्रतिनिधिसभा सदस्य खतिवडाले नगरवासी सभ्य समुदायतर्फ उन्मुख भएको सन्देश घोषणा कार्यक्रमले दिएकाले आगामी दिनमा विकासका थप गतिविधितर्फ लाग्न सुझाव दिए । नगरका प्रमुख राजेन्द्ररमण खनालले विनाशकारी भूकम्पका कारण निजी आवासमा पु¥याएको क्षतिले त्यसको पुनःनिर्माण जारी रहँदा घोषणा कार्यक्रम केही ढिलाइ भएको बताए।

खनालका अनुसार सबैका घरमा पक्की शौचालय निर्माण भएकाले अब ‘एक घर, एक धारा’ सार्वजनिक शौचालय, ढलनालीको उचित व्यवस्थापन तथा फोहरको सुरक्षित स्थानमा विसर्जनका कार्यक्रम अवलम्बन गर्न लागिएको छ ।

बेलकोटगढीसँगै जिल्लाका सबै स्थानीयतह खुला दिसामुक्त क्षेत्र घोषणा भएकाले यो महिनाभित्रै सिंगो जिल्ला घोषणा गर्ने तयारीमा लागेको जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवम् जिसस प्रमुख सन्तमान तामाङले बताए ।