लुम्बिनी

साउदीमा युवकको करेन्ट लागेर मृत्यु

रोल्पा । स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश जान बाध्य ठूलो संख्याका रोल्पाली युवा हरेक वर्ष लास बनेर रातो बाकसमा नेपाल फर्कने गरेका छन् ।

पछिल्लो पटक साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पाका एक युवाले हृदयविदारक मृत्युवरण गरेको पारिवारिक स्रोतले जनाएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका–१, कुरेलीका २३ वर्षीय युवा रामचन्द्र पुनको गत असार १८ गते भएको मृत्युले विदेशमा काम गर्ने रोल्पालीको जोखिम झनै प्रष्टयाएको छ । विदेश जाने युवाको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन ।

आव ०७२/०७३ मा वैदेशिक रोजगारीमा गएका छ हजार ८५७ रोल्पालीमध्ये २२ जनाले खाडी मुलुकमा ज्यान गुमाएका थिए । यसैगरी, आव ०७३/०७४ मा खाडी गएका चार हजार २३६ मध्ये १९ जनाको मृत्यु भएको थियो । चालू आवमा समेत मृत्यु ठूलो संख्याका रोल्पाली युवाले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएको बताइएको छ ।

यसरी विदेश जान बाध्य रोल्पालीमध्ये अधिकांशले अदक्ष श्रमिकको रुपमा जोखिमपूर्ण काम गर्दै आएका छन् । जोखिमपूर्ण कामकै सिलसिलामा हरेक वर्ष ठूलो संख्याका रोल्पालीको मृत्यु, घाइते र अंगभंग भएर स्वदेश फर्किने गरेका छन् ।

यसरी विदेशिनेमध्ये अधिकांश १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवा रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको बताइएको छ ।

शुरुवातमा पुरुष मात्र विदेश जाने गरेकोमा पछिल्ला दिनमा महिलासमेत विदेश जान थालेका छन् । घरमा कमाइ गर्ने पुरुष नभएका परिवारबाट महिलासमेत विदेश गएर काम गर्न बाध्य हुने गरेका छन् ।