स्वास्थ्य

मिर्गौलाको रोगबाट पीडित बगालेलाई सहयोग

रामपुर, पाल्पा । दुवै मिर्गौला खराब भई काठमाडौँमा उपचार गराइरहेका प्रेम बगालेलाई अमेरिकाबाट रु एक लाख आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–३, आर्यभञ्ज्याङ बस्ने बगालेको उपचारमा आर्थिक अभाव भएपछि केही महिना अगाडि उनले सहयोग गर्न सबैमा अपिल गरेका थिए ।

अमेरिकामा बसोबास गर्दै आएका नेबिनजङ रायमाझीको संयोेजकत्वमा आर्थिक संकलन गरी पीडित बगालेको उपचारमा सहयोग गर्न रकम प्राप्त भएको हो । बगालेको उपचारका लागि संकलित रु एक लाखको चेक नेबिनजङकी श्रीमती सुविता रायमाझीले काठमाडौँको वीरअस्पतालमा पुगेर हस्तान्तरण गरेका हुन् ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि पीडित बगाले करीब छ महिनादेखि काठमाडौँको वीरअस्पतालमा उपचार गराउँदै आएका छन्।

विद्यार्थी राजनीतिमा सक्रिय बगालेलाई पछिल्लो समयमा स्वदेश तथा विदेशबाट सहयोगी हात बढेसँगै उनको उपचारमा केही सहजता आएको पारिवारिक स्रोतले जनाएको छ । बगालेले आफ्नो उपचारका लागि आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।