गण्डकी प्रदेश

शिशुकल्याण माविमा छात्रावास निर्माण

बाबियाचौर, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा रहेको शिशुकल्याण माविमा चारकोठे छात्रावास भवन निर्माण भएको छ ।

गाउँपालिकाको सहयोगमा करीब रु १२ लाखको लगानीमा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको आवासीय सुविधाका लागि छात्रावास भवन निर्माण भएको हो । वडाको प्रस्तावमा गाउँपालिकाको रु १० लाख अनुदान र स्थानीयवासीको रु दुई लाख १२ हजार ११३ बराबरको जनश्रमदानमा छात्रावास भवन निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर रोकाले बताए ।

विद्यालयको पुरानो भवनमा तला थपेर छात्रावास बनाइएको हो । फर्निचरको व्यवस्था गरेर छात्रावास सञ्चालन गरिने विद्यालयले जनाएको छ । एसईई परीक्षाको तयारी र टाढाका विद्यार्थीलाई आवासीय सुविधाका लागि छात्रावास सञ्चालन गरिँदै आएको छ । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

पर्यटकीयस्थलमा शौचालय निर्माण

यसैबीच, म्याग्दीको प्रमुख पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–२, भुरुङ, तातोपानीमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

भुरुङ तातोपानी कुण्डमा स्नान, अन्नपूर्ण चक्रिय पदमार्गको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र बेनी–जोमसोम सडकमा आवतजावत गर्ने यात्रुको सुविधाका लागि सार्वजनिक शौचालय निर्माण भएको हो ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा रु आठलाख तीन हजारको लगानीमा शौचालय निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष श्याम रानाले जानकारी दिए ।

शौचालय निर्माणका लागि नेपाल सरकारको रु तीन लाख ९४ हजार ७७१, फिनल्याण्ड सरकारको रु एक लाख ८३ हजार ३३८, अन्नपूर्ण गाउँपालिकाको रु ३२ हजार ५०४, स्थानीयवासीको रु आठ हजार ३४ नगद र रु एक लाख ८४ हजार ७९१ बराबरको श्रमदान भएको छ ।

जिल्ला समन्वय समितिको सहजीकरणमा निर्माण भएको सार्वजनिक शौचालयको बिहीबार वडाध्यक्ष ओमप्रकाश फगामीले उद्घाटन गरेका थिए । सरसफाइ र पर्यटन प्रवद्र्धनका लागि सार्वजनिक शौचालय प्रभावकारी बन्ने वडाध्यक्ष फगामीले बताए ।

बेनी—जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा अवस्थित प्राकृतिक तातोपानी संकलन गरिएको तलाउमा स्नानका लागि वार्षिक एकलाख जनाभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन् ।