स्वास्थ्य

आफ्नै आमाले दिलाइन् छोराको पुनर्जन्म

खोटाङ । केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाएका छन् । डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलीएकी सुरेशलाई बिहीबार उनकी ६४ वर्षीया आमा धनकुमारी दमाईले आफ्नो मिर्गौला उपलब्ध गराएर गरिएको मिर्गौला प्रत्यारोपण सफल भएपछि सुरेशले पुनर्जन्म पाएका हुन् ।

भक्तपुरस्थित अंग प्रत्यारोपण केन्द्रका डा पुकार श्रेष्ठलगायत स्वास्थ्यकर्मीको टोलीले सुरेशको सफल मिर्गौला प्रत्यारोपण गरेको प्रदेशसभा सदस्य राजन राईले बताए । “कमजोर आर्थिक अवस्थाका सुरेश दर्जीले बिहीबारदेखि पुनर्जन्म पाएका छन् ।” उनले भने, “यसमा विशेष धन्यवादका पात्र डा पुकार श्रेष्ठलगायत उहाँको टोली रहेको छ ।”

सुरेश दर्जीलगायत उनका परिवार प्रदेशसभा सदस्य राईको पारिवारिक सदस्यजस्तै भएर गाउँमा बस्दै आएका छन् । उनीहरु एक आपसका सहयोगी हुन् ।

सानै उमेरमा बुबाले छाडेपछि प्रदेशसभा सदस्य राईको शरणमा रहनुभएका सुरेश र उनकी आमाको स्वास्थ्य अवस्था मिर्गौला प्रत्यारोपणपछि पनि ठीक रहेको डा श्रेष्ठले बताएका छन् । “उनीहरु दुवैको अवस्था अहिलेसम्म ठीक छ ।” उनले भने, “उनीहरुको घाउ ठीक हुनासाथ घर पठाइनेछ ।”

मिर्गौला रोगी सुरेशको उपचारमा अहिलेसम्म करीब रु सात लाख खर्च भएको प्रदेशसभा सदस्य राईले बताए । “सुरेशको उपचारमा हामीले कसैसँग सहयोग मागेनौँ ।” उनले भने, “परिवारका सदस्य तथा केही इच्छुक दाताले स्वतःस्फूर्त सहयोग गर्नुभएको छ । उहाँहरु सबैलाई हार्दिक धन्यवाद !”

सुरेशका बुबा टेकबहादुर दमाई अहिलेसम्म सम्पर्कविहीन रहेको स्थानीयवासीले बताएका छन् । सुरेशका दाजु दिलबहादुर दमाई फरक क्षमताका हुन् ।