समाचार

सवारी साधन र पार्टपूर्जा चोरी गर्ने पक्राउ

ललितपुर । प्रहरीले पार्किङ गरेका स्थानबाट सवारी साधन र सवारीका पार्टपूर्जा चोरी गर्नेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

पार्किङ गरेको स्थानबाट स्कुटर चोरी गर्ने अभियुक्त पर्सा घर भई सानेपा बस्ने विजेश राउतलाई प्रहरीले गत शनिबार पक्राउ गरेको हो । यही असार १३ गते बिहान ज्वागलबाट कल्याण पन्तको पार्किङ गरिरहेको मोटरसाइकल चोरी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । परिसरको अनुसन्धान शाखाले अनुसन्धान गर्दा स्कुटर फेला परेको प्रवक्ता (प्रहरी नायब उपरीक्षक) नरेन्द्र चन्दले बताए । उनले भने, “हामीले अनुसन्धानका क्रममा एक सातामा स्कुटर फेला पारेका हौँ ।” बा९४प ६००७ नंको स्कुटरको मूल्य रु दुई लाख ३५ हजार छ ।

परिसरले विभिन्न स्थानमा पार्किङ गरेर राखिएका सवारी साधनका सामग्री चोरी गर्नेलाई पनि पक्राउ गरेको छ । मकवानपुर इपा पञ्चकन्याका २६ वर्षीय विनोदकुमार थिङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । उनले सवारी साधनबाट ब्याट्री, डिजेललगायत सामग्री चोरी गरेको अभियोग लगाइएको छ ।
ललितपुरको पटिचोकस्थित साजन पौडेलको महिन्द्रा निशान ट्रकबाट सामग्री चोरी गरेको प्रहरीले जनाएको छ । उनले भने, “उनीहरुको चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।” जिल्लामा पार्किङ गरेर राखिएका ठाउँबाट सवारी साधन र सवारी पार्टपूर्जाको चोरी बढेको प्रहरीले जनाएको छ ।