राजनीति

नेपाललाई आर्थिक आधुनिकीकरणमा लैजान गिरिजाबाबुको ठूलो योगदान छः डा. महत

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा रामशरण महत काँग्रेस सरकारले ल्याएको आर्थिक नीतिले नै अहिले मुलुक अगाडि बढिरहेको जिकिर गरेका छन् ।

नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला प्रतिष्ठान र गिरिजाप्रसाद कोइराला श्रमिक प्रतिष्ठानले संयुक्त रुपमा आज आयोजना गरेको ‘जिपी र समृद्धि’ विषयको विचारगोष्ठीमा उनले नेपालको आर्थिक पक्षलाई आधुनिकीकरणमा लैजान कोइरालाको ठूलो योगदान छ भन्दै काँग्रेसले आर्थिक उदारीकरणलाई अगाडि बढाएका कारण अहिले मुलुक यस अवस्थामा आइपुगेको भनाइ राखे ।

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसले मुलुकको आर्थिक नीतिलाई नेतृत्व दिएको बताउँदै वर्तमान सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन नसकेको आरोप लगाए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले समृद्धि, आधुनिक र न्यायपूर्ण नेपाल निर्माणको चाहना गिरिजाबाबुमा रहेको बताउँदै गिरिजाबाबु विकासप्रेमी नेता हुनुहुन्थ्यो भने ।

श्रमिक प्रतिष्ठानका उपाध्यक्ष सुधा दाहाल र जिपी प्रतिष्ठानका सदस्य हरि ढुंगानाले स्व कोइराला बहुआयामिक व्यक्तित्व भएको बताउँदै अहिले मुलुकमा उनीजस्तो नेताको अभाव भएको बताए । श्रमिक प्रतिष्ठानका महासचिव सूर्य नेपालले विसं २०६४ मा नेता कोइराला छँदा नै स्थापना भएको श्रमिक प्रतिष्ठानले गिरिजाबाबुका नाममा थुप्रै सामाजिक काम गर्दै आइरहेको जानकारी दिए ।