समाचार

विकासका लागि नगरपालिकाबीच समन्वय हुनुपर्छः विज्ञ

भक्तपुर । जिल्लाको छिटो विकास गर्न र ठूला आयोजना सम्पन्न गर्न सबै नगरपालिकाबीच समन्वय गर्नुपर्ने सांसद तथा विज्ञले जोड दिएका छन् ।

क्रियाशील पत्रकार मञ्च, भक्तपुरले नगरकोटमा आयोजना गरेको ‘जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि एवं भक्तपुरको विकासमा नगरपालिकाको समन्वय’ विषयको दुईदिने अन्तरसंवाद कार्यक्रममा सांसद महेश बस्नेतले जनप्रतिनिधिले नेतृत्व, संगठन, विधि तथा प्रक्रियालाई मानेर अगाडि बढ्नुपर्ने बताए ।

जिल्लाको विकासमा नगरपालिकाबीच समन्वय हुन नसके ठूला विकासका आयोजनामा प्रभाव पर्ने बताउँदै उनले आवश्यक परे ऐन, नियम, कानून सच्याएर जान सकिने छ भने । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले उत्पादनमुखी, ठूला र राम्रा कार्यक्रम नगरपालिकाबीच समन्वय गरेर अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, “जिल्लाका नगरपालिकाले अन्तरनगरपालिका सम्बन्ध विस्तार गर्दै साझा लगानीमा ठूला उत्पादनमुखी विकासका कार्य गरे सरकारले ५० प्रतिशतसम्म अनुदान दिन्छ, यसका लागि यहाँका सबै नगरपालिका मिलेर संयुक्त समिति बनाएर अगाडि बढे विकासले गति लिन्छ ।”

एउटा नगरपालिकामा आएका पर्यटकले सबै नगरपालिका घुम्ने गरी पर्यटकीय विकासको कार्यक्रम बनाएर साझा कार्यसूचीका साथ नगरपालिका अगाडि बढे सरकारले सघाउने आश्वासन दिए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले स्थानीय तहका अधिकार दिनदिनै काटिँदै गएको प्रसंग कोट्याउँदै संघीयतामा अधिकार केन्द्रीकृत गरिने अभ्यास तीव्र हुँदै गएको गुनासो गरे ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीले विकासमा नगरपालिकाको समन्वय र साझेदारीको नीति लिँदै एउटा जिल्लाभित्रको विकासको अवधारणा समान हुनुपर्ने बताए ।

प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव गोपी खनालले नगरपालिकाले विकासमा अपनाउनुपर्ने अवधारणा, प्रारुप, गतिविधि कस्तो हुनुपर्छ भन्नेबारेमा प्रशिक्षण दिएका थिए । मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधिको एक वर्ष विकासमा भन्दा पनि काम गर्ने तरिका, ऐन, कानून र व्यवस्था सिक्दैमा गएको बताउँदै अबको चारवर्ष विकास गर्दै जनताको आवश्यकतालाई सम्बोधन गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ, भक्तपुरका अध्यक्ष एवं पत्रकार सोम शर्मा बजगाईँ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ र सचिव जीतेन्द्र श्रेष्ठले पाँच वर्षपछि जनप्रतिनिधिले बिदा लिँदा गाली नभई प्रशंसा र ताली पाउने गरी जनताको काम र विकास गर्नुपर्ने बताए ।