पर्यटन/संस्कृति

पब्लिक कम्पनीअन्तर्गत रिसोर्ट सञ्चालन

बुटवल । बुटवलमा आजदेखि अत्याधुनिक सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ ।  पब्लिक कम्पनीअन्तर्गत सञ्चालन हुने सो रिसोर्टमा १४० जनाको लगानी रहेको छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित बुटवल उपमहानगरपालिका–१३ ढबाहामा रु २५ करोड लगानीमा सो रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले आज रिसोर्टको उद्घाटन गर्दै रुपन्देहीमा पर्यटन विकासको प्रचुर सम्भावना रहेकाले स्तरीय होटल र रिसोर्टमा अझै लगानी आवश्यक रहेको बताए ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै एक वर्षपछि प्रत्येक दिन १५ देखि २५ हजार आन्तरिक र बाह्य यात्रु तथा पर्यटक रुपन्देही अवतरण गर्ने भएकाले त्यसवारे भविष्यलाई मध्यनजर गरी व्यवसायीले अहिल्यैदेखि तयारी थाल्नुपर्ने सुझाव दिए।

आरम्भ ग्रुप अफ हस्पिटालिटी लिअन्तर्गत सञ्चालित रिसोर्ट आफ्नै स्वामित्वको करीब चार बिघा क्षेत्रफलमा सञ्चालन गरिएको छ ।

रिसोर्टमा स्विमिङ पुल, कन्फेरेन्स हल, पार्टी प्यालेससहित विभिन्न तहका नौ वटा वातानुकूलित बेडरुम रहेका रिसोर्टमा एक वर्षभित्र पूरा हुने गरी ५० वटा र दुई वर्षभित्र सय वटा स्तरीय बेडरुम निर्माण गर्ने लक्ष्य रहेको रिसोर्टका सञ्चालक गोपाल पाण्डेले जानकारी दिए ।

रिसोर्टमै स्नातक तहको होटल व्यवस्थापन (बिएचएम) को कक्षासमेत सञ्चालन भइरहेको छ ।

भविष्यमा रिसोर्टलाई नेपालकै नमूना शिक्षण होटल र पाँचतारे होटलका रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए । रिसोर्टमा हाल ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।