अन्तर्राष्ट्रिय

दक्षिणी सिरियामा द्वन्द्व जारी, विस्थापि हुने बढे

दमासकस । दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएको समाचार छ । यस क्षेत्रबाट विस्थापित हुनेहरूको सङ्ख्या बढ्दै गएको बताइएको छ । दुई हप्तायतादेखि सो क्षेत्रमा द्वन्द्व झन बढेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार सिरियाको प्राय दक्षिणी क्षेत्र द्वन्द्वले आक्रान्त बनेको छ । जसका कारण सो क्षेत्रमा आतङ्ककारीहरुको पनि घुसपैठ भइरहेको छ ।

यसअघि विगत लामो मसयदेखि यहाँका विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले केही हप्ताअघि कारबाही थालेका थिए ।

त्यहाँ आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो । सो क्षेत्रमा लामो समयदेखि विद्रोहीको धरपकड रहेको अधिकारीहरुले बताएका थिए ।

“दक्षिणी सिरियामा भएको द्वन्द्वका कारण विस्थापित हुनेहरूको सङ्ख्या झण्डै तीन लाख पुगेको अनुमान गरिएको छ,” सिरियास्थित राष्ट्रसंघीय निकाय युएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले भने ।

झण्डै दुई हप्तादेखि भइरहेको क्रुरतापूर्वक हवाई तथा स्थलगत कारबाहीबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् ।

सिरियामा सन् २०११ देखि सुरु भएको हिंसामा परी ४ लाख भन्दा बढी मानिस मारिएका छन् । सो हिंसाका कारण यहाँ ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँको तत्कालिन राष्ट्रपति बसर अल असद्को राजिनामाको मागगर्दैै जनआन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

एक तथ्याङ्क भन्छ सिरियाका ६३ लाख नागरिक शरणार्थीका रुपमा बाँच्न बाध्य छन् । देशबाहिर विस्थापित हुन पुगेकाको सङ्ख्या पनि लाखौँ छ । यसरी देश छोड्न बाध्य ती नागरिक विभिन्न छिमेकी देशमा शरणार्थीको जिवन विताउन बाध्य भएका छन् ।

यो सङ्ख्या विश्वकै विस्थापित नागरिकको करिब एक तिहाइ हुन आउँछ । सिरियाली अधिकांश शरणार्थीले छिमेकी देश टर्की र जोर्डनमा शरण लिएर बासेका छन् ।

अरु लगभग त्यति नै सिरियाली देशभित्र विस्थापित भएका छन् । उनीहरुले खाने लाउने अथवा आधारभूत आवश्यकता पनि प्राप्त गर्न सकेका छैनन् ।

सिरियाको गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट ९आइएस० समूहका आतङ्ककारीको घुसपैठ भएको छ । यसैकारण सिरियाको द्वन्द्वमा परी त्यतिधेरै मानिसको ज्यान गएको हो ।

सैन्य गतिविधि रोक्न आग्रह

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले दक्षिणपश्चिम सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

उनले बुधबार विज्ञप्तिमार्फत सिरियामा भइरहेका सैन्य गतिविधि ‘तत्काल रोक्न’ आग्रह गरेको समाचारमा जनाइएको छ ।

यस क्षेत्रमा पछिल्ला केही दिन यता सरकारी फौजद्वारा विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाहीलाई कडा पारिएको छ जसका कारण यहाँका करिब १०० सर्वसाधारणले ज्यान गुमाएका छन् ।

यस घटनाबाट राष्ट्रसंघीय प्रमुख चिन्तित बनेको उहाँका प्रवक्ता स्टेफेन दुजारिकले बताएका छन् ।

महासचिव गुथ्रेसले सुरक्षा कारबाही जारी रहेको दक्षिणपश्चिमी क्षेत्रलाई जोर्डन, रूस र संयुक्तराज्य अमेरिकाबीच द्वन्द्वरहित क्षेत्र बनाउन सहमति भएको ध्यानाकर्षण गराएका छन् ।