प्रदेश 1

सञ्चारकर्मी चौहान, राई र चापागाईंलाई पुरस्कार

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको स्थापना दिवस पारेर प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ यो वर्ष उर्लाबारीकी पत्रकार ज्योति चौहानलाई प्रदान गरिने भएको छ ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा आज यहाँ बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कारको राशि रु १० हजार रहेको छ । यसअघि उक्त पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई र बिनु तिम्सिना पुरस्कृत भइसकेका छन्।

राष्ट्रिय समाचार समिति पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा समाचारदाताका रुपमा कार्यरत रहनुभएकी मीना श्रेष्ठले पूर्वाञ्चल क्षेत्रमा कार्यरत महिला पत्रकारहरुलाई पुरस्कार प्रदान गर्न विसं २०७२ मा रु एक लाख २५ हजार रकमको अक्षयकोष स्थापना गरेका हुन् । श्रेष्ठ हाल अमेरिकामा बसोबास गरिरहेका छन् ।

यसैगरी, मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार अभय राईलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि रु २१ हजार रहेको छ । यसभन्दा अगाडि यस पुरस्कारबाट पत्रकार कुमार लुइँटेल, मोहन मानन्धर र उद्धव घिमिरे पुरस्कृत भइसकेका छन् ।

यसै वर्षदेखि स्थापना गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार–२०७५ इलामका पत्रकार भीम चापागाईंलाई प्रदान गरिने भएको छ । समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजुको नाममा स्थापना गरेको यो पुरस्कारको राशि रु ३१ हजार छ । यो पुरस्कारका लागि समाजसेवी गोयलले रु तीन लाखको अक्षयकोष स्थापना गरेका छन् ।

उक्त तीनै वटा पुरस्कार संस्थाको सातौँ स्थापना दिवसका अवसरमा यही असार २७ गते विराटनगरमा प्रदान गरिने संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी दिए ।