लुम्बिनी

दाङको टरिगाउँ विमानस्थल सञ्चालन गर्न माग

तुलसीपुर, दाङ । अवरुद्ध रहेको दाङको टरिगाउँ विमानस्थललाई सञ्चालन गर्न यहाँका नागरिकले सरकारसँग माग गरेका छन् । विसं २०११ देखि उडान शुरु भएको जिल्लाकै एक मात्र पुरानो विमानस्थल पटकपटक बन्द हुँदा आफूहरु मर्कामा परेको भन्दै सञ्चालन गर्न नागरिकले सरकारसँग माग गरेका हुन् ।

पछिल्लो समयमा तीन महिना भइसक्यो विमान सेवा अवरुद्ध भएको तर सञ्चालन गर्न कसैले पहल गर्दैन तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का हरिप्रसाद अधिकारीले गुनासो गरे ।

उनले भने, “चुनावका बेलामा जिल्लाबाट उम्मेदवार भएका सबैले टरिगाउँ विमानस्थल नियमित गराउनेछु भन्दै ठूलाठूला भाषण गरे, घोषणापत्रमा आफ्ना एजेण्डा बनाए तर अहिले जितेर गइसकेपछि चुप लागेर बस्दा आफूहरुमाथि ठूलो धोका भएको छ”, उनले थपे, “सरकारले यहाँका नागरिकको भावनालाई ध्यान दिनुपर्छ ।”

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं ६ की चन्द्र राईले विमानस्थल नाम मात्रको रहेको बताए । उनले भने, “नियमित उडान नभर्ने भए राज्यको करोडौँ रकम खर्च गरेर धावनमार्ग किन बनाएको हो ।”

विमान सेवा अवरुद्ध भएपछि अहिले पुनःविमानस्थल गौचरणमा परिणत हु्ँदै आएको छ । अहिले स्थानीयले भेडा बाख्रा चराउन शुरु गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो पटक समिट एयरको जहाज हप्ताको दुईपटक उडान भर्ने गरी विमान कम्पनीसँग सम्झौता गरी हवाई सेवा शुरु गरेको थियो । तर सो विमान कम्पनीले शुरुको दुई हप्तासम्म हप्तामा दुईपटक उडान भ¥यो अनि हप्तामा एक पटक सेवा दिँदै आए पनि अहिले त्यो पनि बन्द भएको छ ।

तुलसीपुर उपमहानगरपालिकासँग भएको सहमतिविपरीत समिट एयरले छ हजार ७०० बाट भाडा वृद्धि गरी नौ हजार ८०० पु¥याएपछि विमान सेवा पुनः अवरुद्ध भएको हो । भाडादर एक्कासि वृद्धि र जहाज नियमित नहुँदा अहिले हवाई सेवा अनिश्चित भएको हो ।

देशका अधिकांश नेता तथा सरकार उच्च तहका व्यक्तित्व प्रायः सबै आउने र विमानस्थल निरीक्षण गरेर जाने काम भने नभएको होइन तर अहिले पनि अवस्था उस्तै छ तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजाल भन्छन् ।

यसअघि पनि पटकपटक अवरुद्ध भएको हवाईसेवा सञ्चालन गर्न र धावनमार्ग कालोपत्र गर्न तुलसीपुर उद्योग वाणिज्य संघले पनि पहलकदमी गरेको थियो । तुलसीपुर उद्योग वाणिज्य संघसहित यस क्षेत्रका नागरिकको व्यापक दबाबपछि करीब पाँच वर्षअघि सरकारको रु साढे आठ करोडको लगानीमा ७५० मिटर धावनमार्ग कालोपत्र गरिएको थियो ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले टरिगाउँ विमानस्थल केहि समयमा सञ्चालन हुने बताएका छन् ।

उनले विमानस्थल सञ्चालन गर्न आफू लागिरहेको बताए । यता सरकारले दाङमा वैकल्पिक विमानस्थलको अध्ययन गर्ने भन्दै बजेट भाषणमा उल्लेख गरेलगत्तै दाङमा एयरपोर्टको विवाद शुरु भएको छ । घोराही उपमहानगरपालिका वडा नं १० को नारायपुर क्षेत्रका विभिन्न गाउँका स्थानीय बासिन्दाले विरोध जनाएका छन् । उनीहरुले बुधबार दाङमा पत्रकार सम्मेलन गरी तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थललाई स्तरवृद्धि गरेर सञ्चालन गर्नु साटो सरकारले नारायणपुरमा वैकल्पिक विमानस्थल बनाउन खोज्नु गलत भएको बताएका थिए ।

पत्रकार सम्मेलनमा स्थानीयवासी कमल ओलीले आफूहरुले विमानस्थल बनाउनका लागि कुनै पनि हालतमा जग्गा उपलब्ध नगराउने बताए ।