सुदूरपश्चिम

एक हजारभन्दा बढीलाई तालीम

कञ्चनपुर । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगरले चालु आर्थिक वर्ष २०७४/७५ मा एक हजार ३०० जनाले व्यावसायिक तालीम लिएका छन् ।

तालिम लिनेमा पुरुष ४५३ र महिला ९०९ रहेका छन् । चालू आवको जेठसम्म दलित १६९ महिला र ६७ पुरुष गरी जम्मा २३६, जनजाति ३२३, अपाङ्ग एक तथा अन्य ८०२ जनाले तालीम लिएको कार्यालयका प्रमुख तर्कराज बिष्टले बताए । सञ्चालन गरिएका तालीममा सबैभन्दा बढी सिलाइकटाइ, ब्युटिपार्लर र कम्प्युटर सम्बन्धि रहेको छ ।

केन्द्रबाट तालीम सिकेका विभिन्न क्षेत्रका एक/एक जनालाई स्वरोजगारका लागि रु २२ हजार सम्मको अनुदान सहयोग गरिएको विष्टले बताए । कार्यालयले कटाइ सिलाइ, केश शृंगार, विद्युत् जडान, मेकानिकल वेल्डिङ, मोटरसाइकल मर्मत, प्लम्बिङ, इलेक्ट्रोनिक्स, कम्प्युटर, पम्पसेट मर्मत तथा वैदेशिक एवं युवा स्वरोजगार विशेष सीप विकास तालीम निःशुल्क रुपमा सञ्चालन गर्दै आएको छ ।

यसैबीच, कर्मचारी र कार्यालय प्रदेश वा संघ कहाँ रहने भन्ने अन्यौलताका कारण तालीम प्रभावित भएका छन् । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगर अहिले विभागस्तरीय रहेको र अब केन्द्र, प्रदेश वा स्थानीय तह कसको मातहतमा कसरी रहने भन्ने अन्यौलमा परेको विष्ट बताउँछन् ।