पर्यटन/संस्कृति

शारीरिक अपाङ्गता भएका व्यक्ति मूर्तिकलामा पोख्त

डडेल्धुरा । आफूसँग कलात्मक क्षमता छ भने अपाङ्गता भए पनि अब्बल काम गर्न सक्छन् भन्ने उदाहरण स्थानीय आलितालका धनबहादुर विकले बगरका ढुङ्गालाई कलात्मक मूर्तिमा परिणत गरेर देखाएका छन् ।

आलिताल गाउँपालिका–४ घरेलुगाउँका ४० वर्षीय धनबहादुर राम्रोसँग बोल्न र धेरै हिँड्डुल गर्न सक्दैनन् तर पनि उनमा मूर्तिकलाको क्षमता भने उत्कृष्ट रहेको पाइन्छ । नदी किनार र बगरमा पाइने ढुङ्गालाई घरेलु औजार प्रयोग गरेर उनले दुरुस्तै मूर्ति बनाउने गरेको आफन्तहरु बताउँछन् ।

फोटो हेरेरै ढुङ्गालाई मूर्तिमा ढाल्न सक्ने क्षमताका धनबहादुरले अहिलेसम्म न कुनै तालीम लिएका छन् न त आधुनिक औजार प्रयोग गर्छन् तर पनि उनले बनाउने मूर्ति भने कुनै तालीम प्राप्त शिल्पकारको भन्दा कम नभएको मूर्ति खरीदकर्ताको भनाइ छ । धनबहादुरले अहिलेसम्म ढुङ्गाबाट सयौँ मूर्ति निर्माण गरी बिक्री गरिसकेका छन् । एउटा राम्रो मूर्ति बनाउन ३ महिना र रू७० हजारसम्म खर्च लाग्ने उनको भनाइ छ । आर्थिक अभावकै कारण धनबहादुरले मूर्ति कुँद्ने औजारसमेत घरमै निर्माण गर्ने गरेको उनका दाजु रामबहादुर बताउँछन्

मूर्तिकलामा अब्बल धनबहादुरले यही पेशाबाट परिवार पाल्दै आएका छन् । अपाङ्गता भए पनि मूर्तिकलामा पोख्त उनलाई आधुनिक औजारको जोहो गर्न र पेशालाई अघि बढाउन थप सहयोगको खाँचो परेको उनका भाइ शेरबहादुर विकको भनाइ छ । धनबहादुरले निर्माण गरेका मूर्तिकलाको यस क्षेत्रमै ठूलो चर्चा छ । वर्षौंदेखि ढुङ्गे मूर्ति निर्माण गर्दै उनले वर्षेनी लाखौँभन्दा बढी रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
अर्डरअनुसार विभिन्न देवीदेवताको मूर्ति निर्माणबाट नै परिवारको पालनपोषण भइरहेको भाइ शेरबहादुर बताउँछन् निर्माण भएका मूर्ति डडेल्धुरालगायत बैतडी डोटी र तराईका जिल्लाका मानिसले समेत मन्दिर र घरमा पूजा गर्नका लागि खरीद गरेर लैजाने गरेको पाइन्छ । ढुङ्गेंमूर्तिमा पोख्त धनबहादुरले देवीदेवताका साथै अडर अनुसारका मूर्ति, शालिक र चित्रसमेत बनाउँदै आइरहेका छन् ।