बाग्मती

निकुञ्जमा जिप सफारी बन्द

चितवन । वर्षायाम शुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ । वर्षात्मा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले निकुञ्जले जिप सफारी बन्द गरेको हो ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पछिल्लो समय पर्यटक बोकेका जिप बाटोमा फसेर उद्धारसमेत गर्नुपर्ने भएपछि असार १५ गतेदेखि बन्द गरिएको हो । जंगली जनावर नदेखिँदा निकुञ्जका बारेमा गलत सन्देश नजाओस् भनेर पनि यतिबेला सफारी बन्द गरिएको आर्यालले बताए । गत वर्षमा पनि यो समयमा जिप सफारी बन्द गरिँदै आएको थियो ।

चितवनको सौराहाबाट दैनिक ४३ वटा, कसराबाट १०, मेघौलीबाट सात र नवलपुरको अमलटाँरीबाट पाँचवटा जिपले पर्यटक सफारी गराउने गरेका थिए । बन्द भएको जिप सफारी असोजको दोस्रो सातादेखि पुनः शुरु हुने अर्यालले बताए । भदौको अन्तिम साता मनसुन सकिएपछि झाडी फाँड्ने, भत्किएको बाटो मर्मत गर्ने, पुल मर्मत गर्ने, ढलेका रुख उठाउनेलगायतका काम गरेर पुनः जिप सञ्चालन गरिने उनले बताए ।

जिप सफारीबाट निकुञ्जले हरेक वर्ष करोडौँ रकम आम्दानी गर्दै आएको छ । गत जेठसम्ममा जिप सफारीबाट रु तीन करोड १७ लाख आम्दानी भएको निकुञ्जले जनाएको छ । जिप चढेर निकुञ्जको अवलोकन गर्न पर्यटक रुचाउँछन् । प्रत्यक्ष रुपमा दुर्लभ बन्यजन्तु देख्न पाइने भएकाले जिप सफारी प्रभावकारी मानिएको छ ।