स्वास्थ्य

डा. केसी आकस्मिक कक्षमा भर्ना

सुर्खेत । स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ ।

पाँच दिनदेखि जुम्लामा अनशनरत डा. केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा बुधबार साँझ भर्ना गरिएको हो । स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट उनलाई अस्पतालमा पु¥याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले जानकारी दिए ।

“अनशनस्थल नै जोखिमपूर्ण भएको र उनको समस्या बल्झिन थालेपछि हामी अस्पताल लैजान बाध्य भयौँ,” डाइरेक्टर रोकायाले भने । डा. केसीलाई अस्पताल पु¥याएसँगै सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले उनीसंग भेट गरेका थिए ।

स्वास्थ्यजस्तो संवेदनशील कुरामा ध्यान दिएर डा. केसीको उपचारका लागि कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी बुढ्थापाले रासससँग बताए । यता डा. विनोद अर्यालले एक्कासि डा केसीको मिर्गौला र छातीमा समस्या आएपछि उनलाई अस्पताल लैजानुको विकल्प नरहेको जनाए ।

डा. अर्यालले भने, “निषेधाज्ञालाई तोडेर भएपनि उपचारार्थ डा. केसीलाई प्रतिष्ठानमा पु¥याएका छौँ, आशा गरौँ स्वास्थ्यमा सुधार आउला ।” उनका अनुसार चिकित्सकको निरन्तर प्रयासले मात्र अस्पताल लान सम्भव भएको हो । नत्र डा केसीको जीवन झनै खतरायुक्त बन्दै जाने अवस्था रहेको उनको भनाइ थियो ।

उनलाई सघन उपचार कक्षमा राखिएको प्रतिष्ठानले जनाएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका उनले विभिन्न व्यवधानको बीच जुम्लाको विद्युत् लगायत कुनै सेवा नभएको कभर्डहलमा १५ औँ पटकको अनशन शनिबारदेखि शुरु गरेका थिए ।

आइतबारदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि सरकारले मागको सुनुवाइ नगरुञ्जेल अनशन नतोड्ने अडान उनले राख्दै आएका छन् ।