समाचार

भीमसेन थापा स्मृति पुरस्कार डा हेल्पटनलाई

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डा जोन हेल्पटनलाई प्रदान गर्ने निर्णय गरेको छ ।

उहाँलाई रु ५१ हजार १११ राशिको सो पुरस्कारबाट नेपालको इतिहासबारे गहन अध्ययन, अनुसन्धान तथा लेखनमा विशिष्ट योगदान पु¥याई नेपालको इतिहासलाई विश्वको सामुन्ने प्रस्तुत गर्नुभएकोमा पुरस्कृत गर्न लागिएको हो ।

आउँदो साउन ९ गते काठमाडौँमा आयोजना हुने भीमसेन थापाको २४३ औँ स्मृति दिवस विशेष समारोहमा डा हेल्पटनलाई पुरस्कारका साथै ताम्रपत्रद्वारा सम्मानित गरिने प्रतिष्ठानले बुधबार जनाएको छ ।

डा हेल्पटनले नेपालको इतिहासका विविध पक्षबारे गहन अध्ययन गरी धेरै पुस्तक र अनेकौँ अनुसन्धानात्मक लेख लेख्नुभएको बताइएको छ ।

उक्त पुरस्कारका लागि विज्ञहरुको चयन समितिको सिफारिसका आधारमा प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा हालै बसेको प्रतिष्ठानको बैठकले अनुमोदन गरेको हो ।

विगत दुई दशकदेखि क्रियाशील यस प्रतिष्ठानले इतिहासका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्दै आएको छ ।