समाचार

अवैधरुपमा भारत प्रबेश गराउन लागिएको चुरोट र गोरु नियन्त्रणमा

मंगलबारे, इलाम । नेपालबाट कर छली गरेर अवैधरुपमा भारत निकासी गर्न लागिएको अवस्थामा १२ कार्टुन चुरोट बुधबार बरामद गरिएको छ ।

इलाम सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले चुरोट बरामद गरेको हो । नियन्त्रण गरिएको चुरोट आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पशुपतिनगर इलाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ ।

त्यस्तै, गत असार १८ गते राति १० बजे सूर्योदय नगरपालिका–३ बौद्धधामस्थित कच्ची सडकखण्डबाट चारवटा पिकअप गाडीमा लोड गरिएका २६ वटा गोरुसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अवैधरुपमा भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी गस्ती टोलीले गोरु फेला पारेपछि नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका गोरुसमेत आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पशुपतिनगरमा बुझाइएको छ । इलामको पशुपतिनगर भारतसंगको सीमावर्ती क्षेत्र हो ।