राजनीति

काँग्रेस प्रतिनिधिद्वारा गंगामायाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको प्रतिनिधि टोलीले आज काठमाडौँस्थित वीर अस्पताल पुगी अस्पतालमै अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

काँग्रेस टोलीसँग गंगामायाले आफ्ना मागप्रति वर्तमान सरकारले कुनै चासो नदेखाएकाले सरकारको कुनै विश्वास नरहेको बताउनुभयो । सो क्रममा टोलीले गंगामायाको स्वास्थ्य अवस्था र मागका सम्बन्धमा आफूहरु गम्भीर रहेको बताउँदै संसद्मा कडा रुपले प्रस्तुत हुने प्रतिबद्धता जनाएको थियो ।

टोलीले वीर अस्पतालका कार्यकारी निर्देशक डा भूपेन्द्र बस्नेत र स्वास्थ्य उपचारमा संलग्न चिकित्सकसँग गंगामायाको स्वास्थ्य अवस्था र उपचारका बारेमा जानकारी लिएको थियो । टोलीलाई अस्पताल प्रशासनले गंगामायाको मुटुको चाल कम हुनुका साथै स्वास्थ्य अवस्था कमजोर भएकाले औषधि दिनलाई समेत कठिनाइ भएको जनाएको थियो ।

टोलीमा काँग्रेसका प्रतिनिधिसभा सदस्य पार्वता डिसी चौधरी, लक्ष्मी परियार, डा अमरेशकुमार सिंह, प्रमीला राई, विमला नेपाली, देवप्रसाद तिमिल्सिना र नमिता कुमारी चौधरी लगायत सहभागी थिए ।

आज बसेको काँग्रेस संसदीय दलको बैठकले वीर अस्पतालमा अनशनरत गंगामाया र जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न एक प्रतिनिधि टोली पठाउने निर्णय गरेको थियो । डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार एक टोली त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।