समाचार

सप्तकोशीमा कटानको जोखिम छैन- सुनसरी प्रशासन

इटहरी । पूर्वी पहाडी क्षेत्रसँगै तराईका भू–भागमा अविरल वर्षा जारी रहेकाले विभिन्न स्थानमा डुबान हुने क्रम बढेपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

बाढी घटबढका कारण सप्तकोशी नदीको बहाव पनि त्यहीअनुरुप बढ्ने र घट्ने क्रममा रहेको बताइएको छ । तर खतरा भने नभएको सुनसरी प्रशासनले जनाएको छ ।

सप्तकोशी नदीको पूर्वी तथा पश्चिमी क्षेत्रका तटबन्धन कटानमा नरहेको र तीव्र कटानको जोखिम पनि नरहेको प्रशासनको भनाइ छ । वर्षा भएमा नदी आसपासमा सतर्कता अपनाउन भनिएको छ ।

आज अपराह्न ४ बजे सप्तकोशी नदीमा यो वर्षकै सबैभन्दा उच्च एक लाख ३८ हजार ६० क्यूसेक प्र्रतिसेकेण्ड बाढीको बहाव मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल कक्षको सूचना विभागले जानकारी दिएको छ । अहिले ब्यारेजको कुल ५६ ढोकामध्ये सहज रुपमा बाढी बहाव सन्तुलनका लागि २२ ढोका खोलिएको छ ।