शिक्षा

छात्रवृत्तिमा प्राविधिक विषय पढेकाले अनिवार्य सेवा दिनुपर्ने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित कार्यक्रममा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले आफूले जानेको सीपअनुसार कार्यस्थलमा गएर कम्तीमा छ महिना सेवा दिनुपर्ने सुझाव दिइएको छ ।

सिटिइभिटीअन्तर्गत सञ्चालित कार्यक्रममा शुल्क निर्धारण र छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधारका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वैशाखमा गठन गरेको शिक्षा विभागका निर्देशक दीपक शर्मा संयोजकत्वको कार्यदलले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो सिफारिशसहितको प्रतिवेदन दिएको हो ।

कार्यदलका सदस्य सुप्रभात भण्डारीका अनुसार तीनवर्षे कोर्समा छात्रवृत्ति पाएकाले कम्तीमा एक वर्ष र १८ महिने तालीम लिएकाले कम्तीमा छ महिना निर्वाह भत्ता लिएर सेवा दिनुपर्ने सुझाव दिइएको बताए । सो कार्यक्रमका सबै कोर्समा १० प्रतिशत गरीब, विपन्न तथा द्वन्द्वपीडितलाई छात्रवृत्ति दिने व्यवस्था छ ।

शुल्क निर्धारणबारे विसं २०७१ मा तय भएको मापदण्डलाई वैज्ञानिक बनाउने सूत्रहरु सुझाव दिइएको छ ।