राजनीति

मोहन वैद्यले भनेः क्रान्ति पूरा हुनै बाँकी छ

काठमाडौँ । नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले नेपालमा राजनीतिक क्रान्ति पूरा हुन बाँकी रहेको बताएका छन् ।

जनक्रान्तिका महान् शहीद परिवार समाज नेपालले शहीद तथा बेपत्ता परिवार र पूर्वजनमुक्ति सेनाको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा मुक्तियोद्धाहरुलाई अभिनन्दन गर्दै उनले भने, “दश वर्ष लामो संघर्षमा योद्धाहरुले बगाएको रगत व्यर्थ जाँदैन । मलाई विश्वास छ ढिलो चाँडो क्रान्ति सफल हुन्छ ।”

सच्चा कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले क्रान्ति भएपनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन नआएको बताउँदै अब हुने क्रान्तिले परिवर्तन ल्याउने दाबी गरे ।

सोही पार्टीका महासचिव कर्णजीत बुढाथोकीले गणतन्त्रको रक्षार्थ क्रान्ति गर्ने बताए ।

सम्मानित हुने माओवादी योद्धाहरुमा सन्दीप पुनः, जविल कार्की, सामना श्रेष्ठ, प्रतीक कार्की, राजन बुढाथोकी, राजेन्द्र बोहरा, उमेश विक, नवीन पोख्रेल, ज्ञानु खड्का, नग्मा माली तथा निजला माली छन् ।

समाजका संयोजक कर्णजीत बुढाथोकीले परिवर्तनकामी योद्धाहरुको वीरताको कदर गर्न सम्मान कार्यक्रम गरिएको जानकारी दिए ।