खेलकुद

नकआउट चरणबाटै घर फर्किएको अर्जेन्टिनाका फ्यानलाई खुसीको खबर !

काठमाडौं । डिएगो म्याराडोनाले जारी विश्वकको प्रि–क्वार्टरफाइनलबाटै घर फर्किएको अर्जेन्टिनालाई समाल्ने इच्छा देखाएका छन् ।

उनले एक टेलिभिजनलाई अन्तरवार्ता दिनेक्रममा विना पारिश्रमिक टिमलाई नेतृत्व दिने इच्छा रहेको बताएका हुन् । टेलिभिजन कार्यक्रम ‘ह्यान्ड अफ गड’ मा बोल्दै ५७ वर्षे म्याराडोनाले राष्ट्रिय टोलीको वर्तमान स्थिति देखेर पीडा भएको बताएका थिए ।

‘म राष्ट्रिय टोलीलाई पुनः नेतृत्व दिन चाहन्छु । त्यो पनि बिनापारिश्रमिक । पुनरागमनमा मेरो कुनै माग हुनेछैन,’ टेलेसुर टेलिभिजनको एक कार्यक्रममा म्याराडोनाले भनेका छन् । म्यारोडोना यसअघि सन् २००८ देखि २०१० सम्म अर्जेन्टिनाको प्रशिक्षकको रुपमा भूमिका निभाएका थिए ।

म्याराडोनाले बिनापारिश्रमिक पुनः अर्जेन्टिनाको प्रशिक्षक बन्ने इच्छा देखाएपछि हालका प्रशिक्षक जर्ज साम्पोलीमाथि दबाब बढेको छ । शनिबार फ्रान्सविरुद्ध ४–३ ले पराजित हुँदै अर्जेन्टिना विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक साम्पोली चर्को दबाबमा छन् ।

दवाव झेले पनि साम्पोली अहिल्यै पद छाड्ने मनस्थितिमा देखिएका छैनन् । साम्पोलीको सम्झौता सकिन अझै चार वर्ष बाँकी छ । त्यसैले अर्जे्न्टिना फुटबल संघले उनलाई बर्खास्त गर्न १ करोड ५० लाख अमेरिकी डलर तिर्नुपर्छ । -एजेन्सी