लुम्बिनी

प्रदेश विनियोजन विधेयक २०७५ बहुमतले पारित

बुटवल । प्रदेश नं ५ मा प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) बहुमतले पारित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलको अनुपस्थितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले ‘(प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत हँुदा बहुमतले विधेयक पारित गरेको हो । सो विधेयकमा विपक्षी दल नेपाली काँग्रेसले असहमति जनाएको छ । विधेयक पाससँगै प्रदेश सरकारलाई बजेट कार्यान्वयन गर्न बाटो खुला भएको छ ।

यसअघि ध्यानाकर्षणको समय माग गर्दै प्रदेश नं ५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सैनामैनाको बुद्धकालीन सभ्यतालाई संरक्षण र संवद्र्धन गर्न ऐन आवश्यक भएको उल्लेख गर्दै बृहत्तर बुद्ध सर्किटको खाका बनाउने तयारी सरकारले गरेको जानकारी दिए ।

विपक्षी दलका प्रदेशसभा सदस्य डिल्ली चौधरीले बाढी र डुबानको समस्या समाधान गर्न संसदीय टोली गठनको माग गर्दै कृषकलाई खेती गर्ने अवसरबाट वञ्चित नगरियोस् भने ।

अर्का प्रदेशसभा सदस्य तिलकराम शर्माले बर्दियाको गुलरिया नगरपालिकामा डुबानको जोखिम रहेको औँल्याउँदै सरकारले सो क्षेत्रमा ध्यान दिन नसकेको आरोप लगाए ।

सो अवसरमा सभा भवन परिसरमा स्थापित गौतम बुद्धको प्रतिमा अनावरण पनि सभामुख पूर्णबहादुर घर्तीले गरेका थिए ।