उर्जा

विद्युत् प्रसारणलाइन निर्माण सुस्त गतिमा

चितवन । भरतपुर–हेटौँडा र भरतपुर–बर्दघाट २२० केभिए प्रशासारणलाइन निर्माण आयोजना शुरु भएको नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

मेची–महाकालीसम्म विद्युत विस्तार गर्ने उद्देश्यले सन् २००९ मा तीन वर्ष भित्रसक्ने गरी शुरु गरिएको कामले गति लिन नसक्दा सो आयोजना अलपत्र भएको हो ।

दुई छुट्टाछुट्टै आयोजना बनाएर काम थालिएकामा अहिले दुबै आयोजनालाई एउटै बनाएर काम गरिँदै आइएको छ । आयोजनाका प्रमुख ईश्वरी जैसवालका अनुसार भरतपुर–बर्दघाट खण्डको ठेक्का सन् २००९ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सेन्टर चाइना पावर ग्रिडले पाएको थियो । उक्त कम्पनीलाई रु एक अर्ब २० करोडमा ठेक्का दिइएको हो ।
समयमा काम नगरे पनि सन् २०१७ जुनसम्म उक्त कम्पनीले मिति थप गर्दै आएकामा सन् २०१७ जुन ५ मा भने सो कम्पनीसँगको सम्झौता रद्द गरिएको उनले बताए ।

विश्व बैंकको ऋण सहयोगमा सञ्चालित यस आयोजनाको काम २० प्रतिशत मात्रै भएको आयोजना प्रमुख जैसवालले बताए । पुनःबोलपत्र आह्वान गर्दा चिनियाँ ह्याङटन अपटिक इलेक्ट्रिक कर्पोरेशनलाई उक्त कामको ठेक्का परेको र केही दिनभित्रै उक्त कम्पनीसँग सम्झौता हुने तयारी भइरहेको आयोजना प्रमुख जैसवालले उल्लेख गरे ।

पहिलो कम्पनीले आठ वर्षमा २० प्रतिशत मात्रै काम गरेको थियो । यस खण्डमा २४६ वटा विद्युत् टावर निर्माण गर्नुपर्नेमा ७० वटा मात्रै टावर निर्माण भएको थियो । टावर निर्माण गर्ने क्षेत्रमा ४९ जनाको निजी जग्गा परेकोमा ३० जनालाई मुआब्जा दिइसकिएको छ । सो क्षेत्रमा पर्ने २८ हजार रुखमध्ये छ हजार रुख काटिएको छ ।
टावर निर्माणका लागि १३ धुर जग्गा चाहिन्छ भने तारको बाटोमा ३० मिटर फराकिलो जग्गा आवश्यक पर्दछ । यो प्रशारणलाइन ७४ किलोमिटर लामो छ ।
त्यस्तै भरतपुर–हेटौँडा प्रशारण लाइनको काम पनि सुस्तगतिमा अगाडि बढेको छ । सँगै शुरु भएको सो आयोजनाको तीनवटा सव स्टेशन निर्माण गर्ने ठेक्का चिनियाँ कम्पनी जोङ डिङ इन्टरनेशनल कम्पनीलाई परेको थियो ।
सो कम्पनीले ३४ लाख ४५ हजार अमेरिकी डलर र २४ करोड नेपाली रुपैयाँमा सन् २००९ मा नै तीन वर्षमा सक्ने गरी ठेक्का लिएको थियो । यसका लागि भरतपुरमा एउटा र हेटौँडामा दुई वटा सव स्टेशन निर्माण गर्नुपर्ने छ ।

आयोजनाका प्रमुख जैसवालका अनुसार सो कम्पनीले हालसम्म ९१ प्रतिशत काम सम्पन्न गरे पनि पटक÷पटक मिति थप गर्दै आएको छ ।

सो क्षेत्रमा टावर निर्माण र तार टाग्नका लागि भारतीय कम्पनी आइकम टेलिइण्डिया लिमिटेडलाई ठेक्का परेको थियो । सन् २००८ मा सो कम्पनीले एक करोड २३ लाख ९९ हजार डलर र २८ करोड ६० लाख नेपाली रुपैयाँमा ठेक्का लिएको थियो । उक्त क्षेत्रको लम्बाइ पनि ७४ किलोमिटर छ । जसका लागि २२६ वटा टावर निर्माण गर्नुपर्नेमा ९५ वटा टावर निर्माण सम्पन्न भएको छ भने ६५ वटाको टावरको बेस मात्रै बनेको र छ किलोमिटर क्षेत्रमा तार टाग्ने काम भइसकेको छ ।

आयोजनाका इञ्जिनियर कमलराज चुकेका अनुसार भरतपुर हेटौँडा खण्डमा ५६६ घरटहरा पर्दछन् । सो क्षेत्रमा २४ हजार रुख काट्नुपर्नेमा १८ हजार ९५३ वटा रुख मात्र काटिएको छ ।

काटिएका रुखको क्षतिपूर्तिबापत वृक्षरोपणका लागि चितवन र मकवानपुरका जिल्ला वन कार्यालयलाई रु पाँच करोड १५ लाख भुक्तानी दिइसकिएको उनले बताए ।

यो प्राशारण लाइन निर्माण भएपछि छिमेकी जिल्लाबाट उत्पादित विद्युत् पूर्वी नेपाल र पश्चिम नेपाल लैजान सहज हुनेछ । त्यसैगरी ४५६ मेघावाट क्षमताको तामाकोशीबाट उत्पादित विद्युत् पश्चिम पठाउन यही प्रसारणलाइन प्रयोग गर्नुपर्ने इन्जिनियर चुकेले बताए । आउँदो असोजसम्म तामाकोशीबाट विद्युत् उत्पादन हुने भए पनि प्रशारण लाइनको भने अभाव हुने देखिएको उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले किन ढिलाइ भएको हो यस बारेमा तत्काल बुझ्ने र गृह मन्त्रालयको निर्देशनअनुसार समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीका लागि पहल गरिने बताए ।