राजनीति

सरकार लोकतान्त्रिक विरोधी : संयोजक डा भट्टराई

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले विरोध गर्न पाउने जनताको अधिकार विपरित सरकारले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै उनले कम्युनिष्ट नेतृत्वको बहुमतको सरकारले लोकतान्त्रिक समाजवाद उन्मुख विरोधी गतिविधि देखाउनु चिन्ताको विषय भएको धारणा व्यक्त गरे ।

डा भट्टराईले भने, “लोकतन्त्रका सामान्य मूल्य मान्यता विपरित आधिकारका लागि धर्ना विरोध गर्न नपाउने गरी विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ, यो लोकतन्त्रलाई सङ्कुचित गर्ने काम हो ।”

शिक्षा र स्वास्थ्य कहिलै पनि मुनाफाको विषय हुन नसक्ने उल्लेख गर्दै उनले राज्यले सबै जनतालाई सर्वसुलभ शिक्षा र स्वास्थ्यको प्रत्याभूत दिलाउपर्नेमा जोड दिए ।

संयोजक भट्टराईले वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै उद्धार तथा राहत र क्षति न्यूनीकरणमा सरकारले सक्रियता देखाउनुपर्ने खाँचो औंल्याए ।