कर्णाली प्रदेश

कृषकलाई राहत

त्रिपुराकोट, डोल्पा । जिल्लामा लामो खडेरीपछि वर्षा भएको छ । पानी परेपछि कृषकलाई राहत मिलेको छ । चार महिनासम्म खडेरी परेपछि खेतबारीमा लगाइएको अन्नबाली सुक्न थालेपछि कृषक चिन्तित भएका थिए । तीन दिनसम्म लगातार पानी परेपछि धान, मकै, सिमी, कोदो लगायतको अन्नबालीलाई मद्दत पुगेको छ ।

खडेरीका कारण कृषक प्रभावित बनेका थिए । “खडेरीले कात्तिकमा पाक्ने मकै, चिनो लगायतका अन्नबाली रोप्नै पाएका थिएनौँ, ढिलै भए पनि वर्षा भयो, अहिले रोप्न भ्याइनभ्याइ छ” त्रिपुरासुन्दरी नगरपालिका– ९ का योगेन्द्र कार्कीले भने ।

पानी परेपछि बाँझो रहेको जग्गामा अहिले कृषकले धमाधम बालीनाली लगाउन थालेका छन् । वर्षाका कारण डाँडापाखामा प्रशस्त घाँसपात उम्रने भएपछि पशु चरिचरनका लागि सहज हुने भन्दै कृषक खुशी भएका छन् ।