कृषि

एकीकृत कृषि बजार केन्द्र स्थापना हुँदै

बुटवल । रुपन्देहीको सैनामैना र बुटवलमा एकीकृत कृषि बजार केन्द्र (अत्याधुनिक ग्रीनपार्क) स्थापना गरिने भएको छ । यहाँको कृषि बजारलाई विस्तार गर्ने, आयात प्रतिस्थापन र निर्यातमा जोड दिँदै किसानलाई उत्पादनमा प्रोत्साहन गर्नेगरी परियोजना निर्माण हुन लागेको हो ।

रुपन्देहीमा मुलुककै नमूना कृषि बजारको सम्भावना रहेको भन्दै संघीय सरकारले बुटवल उपमहानगरपालिका– १६ र सैनामैना नगरपालिका– १ को संगमस्थल डहरगाउँ–कर्साघाट क्षेत्रमा उक्त ग्रीनपार्क निर्माणका लागि प्रस्ताव गरिएको बुटवल नगरपालिकाले जनाएको छ ।

यसका लागि प्रस्तावित जग्गामा डिपीआर बनाउनेबारे छलफल शुरु भएको छ । बुटवलको २० र सैनामैनाको पाँच बिगाहा जग्गामा पार्क निर्माणका लागि प्रस्ताव गरिएको छ । अहिले सो जग्गाबारे अध्ययन भइरहेको छ ।

एकीकृत कृषि बजार संघीय सरकारले यहाँका दुई नगरपालिकासँगको सहकार्यमा बनाउन लागेको अत्याधुनिक र ड्रिम प्रोजेक्ट भएको बताइएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले यसलाई कृषि अनुसन्धान केन्द्र तथा शीतभण्डारका रुपमा विकास गरिने उल्लेख गर्दै झण्डै रु दुई अर्बको योजना भएको बताए ।

उनले भने, “कृषिमा यो अवधारणाले नयाँ प्रयोग र नयाँ अनुसन्धान हुनेछ ।” कृषि क्षेत्रबाट आयआर्जन बढाउने र समग्र प्रदेश नं ५ को विकासमा टेवा पु¥याउन परियोजनाले काम गर्नेछ ।

बुटवलका नगरप्रमुख शिवराज सुवेदी र सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले संघीय सरकारलाई संयुक्त पत्र लेख्दै सम्भावित जग्गाको प्रस्ताव गरेका थिए । बुटवलको कृषिउपज केन्द्र नौ महिनाअघि निर्माण भएको हो । यहाँ वार्षिक ८५ हजार मेट्रिक टन बराबरको कृषिउपजको कारोबार भएको छ ।

व्यापारको अनुपात वर्षेनी बढ्दो क्रममा रहेकाले यो साँघुरो र अव्यवस्थित हुँदै गएको छ । यहाँ स्वदेशी उत्पादनका अतिरिक्त भारत र चीनलगायतका मुलुकबाट फलफूल र तरकारीको आयात गरिँदै आएको छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा पनि अत्याधुनिक बजार निर्माण गर्ने विषयलाई दुवै नगरपालिकाले प्राथमिकता दिएका छन् । कृषि क्षेत्रलाई रु ४० अर्ब १४ करोड पाँच लाख रकम विनियोजन गरेको छ । अहिले अगाडि बढाइएको परियोजनामा यस वर्ष विस्तृत अध्ययन सकेर अर्को वर्षदेखि निर्माण शुरु हुने बताइएको छ ।