गण्डकी प्रदेश

उद्यमी तयार गर्दै गाउँपालिका

बागलुङ । ताराखोला गाउँपालिकाले स्थानीय स्रोत साधनमा आधारित उद्यमशीलता प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । जनशक्तिलाई उत्पादनसँग जोडेर स्वाधीन गाउँपालिका बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम अघि बढाएको हो । उद्यम विकास कार्यक्रमले रोजगार सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढ्ने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

“यहीँको स्रोत साधनको उपयोगबाट उद्यम चलाउने योजना छ”, उनले भने, “यसबाट गाउँगाउँमा उद्यमी तयार हुन्छन् ।” स्थानीय आवश्यकता र सम्भावना पहिचान गरेर उद्यम विकासमा गाउँपालिकाले सघाउने उनको भनाइ छ । गाउँपालिकाले चालु आवमा उद्यममा लाग्न इच्छुक समूह र संस्थालाई ज्ञान, सीप, प्रविधि र उपकरण प्रदान गरेको छ ।

स्थानीय उद्यमीले पहिलोपटक अल्लो प्रशोधनका लागि आधुनिक उपकरण पाएका छन् । गाउँपालिकाले रु सात लाख ५० हजारको उक्त यन्त्र वडा नं ५ को सोनाम अल्लो कपडा समूहलाई प्रदान गरेको हो । प्रशोधनसहित धागो निकाल्न प्रयोग हुने पाँच प्रकारका उपकरण समूहले पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुसालले बताए ।

अल्लोको व्यावसायिक प्रवद्र्धनका लागि गाउँपालिकाले उपकरण उपलब्ध गराएको हो । यसअघि आधुनिक प्रविधि नहुँदा हातैले अल्लो चुटेर धागो निकाल्नुपर्ने अवस्था थियो । घरेलु प्रविधिबाट उत्पादन न्यून हुने हुँदा सोचेजति व्यवसायीकरण हुन सकेको थिएन । नयाँ प्रविधिले गुणस्तरीय अल्लोको धागो उत्पादनमा सघाउ पु¥याउने ठानिएको छ ।

“उपकरणको अभावमा अल्लोको उत्पादन संकटमा परेको थियो”, भुसालले भने, “अब उत्पादन बढ्ने र बजारीकरण हुनेमा हामी विश्वस्त छौँ ।” गाउँपालिकाले वडा नं २ को लेकाली अल्लो समूहलाई अल्लोको कपडा बुन्ने तानसमेत उपलब्ध गराएको छ । रु ३५ हजार मूल्यको उक्त तानबाट कपडा, झोला, टोपीलगायत सामग्री बुन्न सकिनेछ ।

गाउँपालिकामा रहेका अन्य समूहले पनि नयाँ प्रविधिको माग गरेका छन् । गाउँपालिकाले आगामी आवमा उद्यम विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । ताराखोलामा अल्लो प्रशस्त पाइने हुँदा त्यसको व्यावसायिक प्रवद्र्धनमा गाउँपालिका लागिपरेको छ । अल्लोको प्रवद्र्धनका लागि स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतले अल्लोबाट बनेका कपडा र सामग्री अनिवार्य प्रयोग गर्ने व्यवस्था गरिने भएको छ ।

यस्तै अन्यत्र बजारीकरणका लागि पनि गाउँपालिकाले सघाउ पु¥याउनेछ । अल्लो पहाडी भू–भागमा पाइने वनस्पति हो । अल्लोको बोक्रामा हुने रेशा नरम, बलियो र चम्किलो हुने हुँदा धागो बनाउन प्रयोग गरिन्छ । अल्लोको धागोबाट जुत्तादेखि, कपडा, झोला, टोपीलगायतका सामग्री बनाउन सकिन्छ । स्थानीय उत्पादन भएकाले अल्लोको कपडाप्रति प्रयोगकर्ताको आकर्षण छ ।

उद्यमीले अल्लोको कपडाबाट पर्याप्त आम्दानी गर्न सकिनेछ । अल्लोसँगै ढाका बुनाइ, सिलाइकटाइ, सिकर्मी, डकर्मीलगायतका सीपमूलक तालीम पनि गाउँपालिकाले सञ्चालन गर्दैआएको छ । अन्य सरकारी निकाय र संघसंस्थासँग सहकार्य गरेर उद्यम विकासमा अघि बढ्न गाउँपालिकाले योजना बनाएको छ ।