समाचार

यातायात कार्यालय गुर्जुधारामा प्रहरीको छापा, ८ विचौलीया समातिए

काठमाडौं । यातायात व्यवस्था कार्यालयमा प्रहरीले छापा मारेको छ । विचौलियाले सेवाग्राहीलाई ठग्ने गरेको गुनासो आएपछि प्रहरीले यातायात कार्यालयमा छापा मारेको हो । प्रहरीले यातायात कार्यालय गुर्जुधाराबाट ८ जना बिचौलीयालाई नियन्त्रणमा लिएको छ ।

बिभिन्न सेवाको लागि आएका सेवा ग्राहीलाई छिटो छरितो काम गरिदिने भनी रकम माग गरी विचौलियाहरुले हैरानी गरिरहेको, सेवाग्राहीलाई बिच बाटोमा रोकी दुख दिई कार्यालयमा सिधै सम्पर्क गर्न जान रोकिरहेको, सरकारी दस्तुर भन्दा वढि रुपैयाँ माग गरिरहेको लगायत अवस्थामा विचौलीयालाई नियन्त्रणमा लिईएको छ ।

पक्राउ पर्नेहरुमा ३३ बर्षीय कृष्ण प्रसाद थपलिया, २० बर्षीय किरण देउला, ४४ बर्षीय गोपाल कृष्ण श्रेष्ठ, ३८ बर्षीय प्रकाश तन्डुकार, १७ बर्षीय अपार रिजाल, ३४ बर्षीय कन्चन राई, ६७ बर्षीय बाल कृष्ण खत्री र ३० बर्षीय पवन तामाङ रहेका छन् ।

सेवाग्राहीहरुले कार्यालयबाट सिधै सेवा लिन नसक्ने परिस्थिति रहेको तथा बिचौलियाहरूले दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने गरेको, सिधै कार्यालयमा जान बिचौलियाहरूले नै रोक्ने गरेकोले सर्वसाधारणलाई ठूलो अन्याय भएको गुनासो सेवाग्राहीको आएपछि प्रहरी टोली यातायात कार्यालय पुगेको थियो । पक्राउ परेकालाई महानगरिय प्रहरी बृत थानकोट पठाईएको र थप अनुसन्धान भईरहेको जनाइएको छ ।