प्रदेश 2

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गयो

काठमाडौं । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३ ख ३३२५ नंको मालबाहक ट्रकमा सोही दिशाबाट आएको को ९ प ७८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–९, रुपनगर निवासी १७ वर्षीय किसन यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी स्थानीय अरबिनकुमार यादव गम्भीर घाइते भएका र उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कञ्चनरुपले जनाएको छ ।

खाल्डोमा डुबेर बालकको मृत्यु

यसैगरी, पानी जमेको खाल्डोमा डुबेर सिरहाको विष्णुपुर गाउँपालिका–१, खोरिया टोलमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जिनिस यादवको दुई वर्षीय छोरा आशिषकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, विष्णुपुरले जनाएको छ ।