समाचार

आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्छ

काठमाडौँ । सञ्चार क्षेत्रको सुधारका लागि अहिले बनेकै कानून र नीतिगत अवधारणा कार्यान्वयन गरिए पनि नेपाली पत्रकारिता क्षेत्रले पस्कने सामग्री इन्द्रधनुषजस्तो हुने विश्वास व्यक्त गरिएको छ ।

नेपाल पत्रकार महासंघ, समावेशी समितिद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा सहभागी वक्ताहरुले सञ्चार क्षेत्रमा समावेशी अवधारणालाई मूर्तरुप दिन लक्ष्य निर्धारण गरेर कार्यक्रम अघि बढाउन सुझाव दिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भइरहेका सञ्चार संरचनालाई कसरी समावेशी गराउने भन्ने हेतुले तयार गरिएको आमसञ्चार माध्यमसम्बन्धी मस्यौदाबारे छिट्टै सरोकारवालासँग छलफल गर्न लागिएको जानकारी दिए ।

उनले भने, “महासघले प्रेस स्वतन्त्रताको विषयमा मात्र होइन, आम जनताको सरोकार र चासोलाई पनि उत्तिकै ध्यान दिनेछ ।”

उपसभापति दिलीप थापामगरले महासंघ मातहतका संरचनालाई समावेशी बनाउँदै लैजाने सन्दर्भमा समितिले दिने प्रतिवेदनलाई कार्यान्वयन गरिने विश्वास व्यक्त गरे ।

सचिव शीतलप्रसाद महतोले आम सञ्चार क्षेत्रमा समावेशीका मुद्दालाई कार्यान्वयन गर्ने विषयलाई अभियानका रुपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छा विन्दु तुलाधरले आमसञ्चारसम्बन्धी निर्माण भएका कानूनको प्रभावकारी कार्यान्वयन र सकारात्मक विभेदको नीति अवलम्बन गरिएको खण्डमा सञ्चार क्षेत्रमा पत्रकार महिलाको सहभागितामा वृद्धि हुने विश्वास व्यक्त गरे ।

पत्रकार खिम घलले समावेशीको सिद्धान्त, ऐतिहासिक पृष्ठभूमि, नेपाली समाजको बनोट र विश्वव्यापीकरणको प्रभाव समेतका आधारलाई विश्लेषण गरेर नेपालको आमसञ्चार क्षेत्रमा सुधार ल्याएर इन्द्रधनुषजस्तै बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

संविधानको प्रस्तावनामा बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्ने स्पष्ट उल्लेख भएअनुसार आम सञ्चार क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति, मधेशी, अपांगता र सीमान्तकृत समुदायको उपस्थिति हुन आवश्यक रहेको धारणा उनले व्यक्त गरे ।

सो अवसरमा आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, सञ्चारिका समूहका महासचिव उपाध्यक्ष नितु पण्डित लगायतले आम सञ्चार क्षेत्रलाई समावेशी बनाउन नीति अनुरुपको कानून बनाउन, सेवा प्रवेशमा समावेशी नीति अवलम्बन गर्न तथा पत्रकार महिलालाई प्रतिस्पर्धी र क्षमतावान बनाउन तालीम र प्रशिक्षणलाई समयानूकुल तुल्याउन सुझाव दिए ।

संविधानले समावेशीलाई आत्मसात् गरे पनि व्यवहारमा भने समवेशीसम्बन्धी मुद्दा नीतिले होइन, सोचले रोकेको उनहरुले टिप्पणी गरे ।

पत्रकार स्वयंले प्रतिस्पर्धाका लागि मेहनत गर्ने, नेतृत्व क्षमताको विकास गर्ने, आफ्नो समुदाय र परिस्थितिप्रति आत्मग्लानी होइन गर्व गर्ने, क्षमतालाई समयानुकूल बनाउँदै लैजानुपर्ने तथा नयाँ भर्ना, कार्यक्रम तथा सम्पादकीय नीतिमा समावेशीको सिद्धान्तलाई अंगीकार गर्नुपर्ने सुझाव सो अवसरमा प्रस्तुत पत्रकार घलेको कार्यपत्रमा उल्लेख छ ।