समाचार

सुनसरी ५६ औं खुल्ला दिसामुक्त जिल्ला घोषणा

सुनसरी । सुनसरीलाई मंगलबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । यो नेपालको ५६ औं खुल्ला दिसामुक्त जिल्ला हो । प्रमुख अतिथि कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले जिल्ला खुल्ला दिसामुक्त घोषणा गरिन् ।
१ लाख ४४ हजार ३ सय ४७ घरधुरी रहेको सुनसरीमा वि.सं. २०५९ देखि नै खुल्ला दिसामुक्त अभियानको थालनी गरिएको थियो । ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम, प्लान नेपाल वल्र्ड भिजन नेपाल, यूनिसेफ लगायतका विकास साझेदार र नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोगमा खुल्ला दिसामुक्त अभियान सञ्चालन गरिएको थियो ।

१ नं. प्रदेशमा अब झापा, मोरङ, भोजपुर र सोलुखुम्बूमात्र खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी रहेका छन्, जसमध्ये भोजपुर र सोलुखुम्बूमा १०० प्रतिशत घरधुरीमा शौचालय बनिसकेका छन् ।

कार्यक्रममा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका नमस्तेलाल श्रेष्ठ, खानेपानी तथा ढल निकास विभागमा उपमहानिर्देशक मनोजकुमार घिमिरे, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम÷यू.एन. ह्याबिट्याटका कार्यक्रम व्यवस्थापन सुधा श्रेष्ठ लगायतले राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट र खानेपानी तथा ढल निकास विभाग, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका प्रमुख शंकर प्रसाद जैसवालले क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट जिल्ला खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले समृद्ध समाज निर्माणका लागि सरसफाइ र वातावरण संरक्षण महत्वपूर्ण रहेको बताइन् ।

कार्यक्रममा प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जनदिस कुसियत, प्रतिनिधि सभाका सांसद सीताराम मेहता, प्रदेश सभा सांसद राजीव कोइराला, खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक मनोजकुमार घिमिरे, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका प्रमुख शंकरप्रसाद जैसवाल, सरसफाइविद् नमस्तेलाल श्रेष्ठ, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम÷यू.एन. ह्याबिट्याटका कार्यक्रम प्रवन्धक सुधा श्रेष्ठ, प्लान नेपालका कलावती आङ्वो, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव लगायतले खुल्ला दिसामुक्त अभियानका क्रममा हासिल गरेका उपलब्धीहरुको दिगोपनका लागि पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा खुल्ला दिसामुक्त अभियानमा योगदान गर्ने संघसंस्था, व्यक्ति, निकायहरुलाई सम्मान समेत गरिएको थियो । जिल्ला खुल्ला दिसामुक्त घोषणाको पूर्वसन्ध्यामा सदरमुकाम लगायतका क्षेत्रहरुमा दीपावली समेत गरिएको थियो ।