कृषि

बालीमा रोग तथा कीराको आक्रमण

ललितपुर । स्वस्थ बिरुवा, उपयुक्त मौसम र माटोको चिस्यानको अवस्था नमिल्दा बालीमा रोग तथा कीराले आक्रमण गर्ने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले बालीमा गरेको विभिन्न अध्ययनले बिरुवा, माटो, मौसमलगायतमा ध्यान नदिँदा रोगले सजिलै आक्रमण गर्ने पाइएको छ ।

सम्भव भएसम्म रोग अवरोधक जातमात्रै रोप्नुपर्ने महाशाखाकी वैज्ञानिक चेतना मानन्धर बताउनुहुन्छ । उनी भन्छन्, “कुन बिरुवा कुन ठाउँका लागि हो र बिरुवा स्वस्थ हो/होइन बुझेरमात्रै रोप्नुपर्छ ।” एउटा ठाउँका लागि सुहाउँदो बिरुवा अर्को ठाउँमा लगाउँदा रोगले सताउने र उत्पादन कम हुन्छ ।

जलवायु परिवर्तनका कारण वर्षामा पानी नपर्ने र हिउँदमा पानी पर्न थालेको छ । किसानले समयमा बाली लगाउन पाएका छैनन् । कतिपय मौसम बालीका लागि उपयुक्त नहुँदा कीरा र रोगका लागि भने उपयुक्त हुन्छ ।

“कुन समयमा कुन बिरुवा रोप्ने भन्ने विचार गर्नुपर्छ,” मानन्धरले भने ।

माटोमा चिस्यानको अवस्था हेरेरमात्रै किसानले बिरुवा रोप्दा रोग तथा कीराको प्रकोप कम गर्न सकिन्छ । माटोमा ढुसी हुँदा विभिन्न उपाय अपनाएर त्यसलाई हटाएरमात्रै रोप्दा बिरुवा राम्ररी हुर्कन्छ । ढुसी, कीरा तथा रोग लाग्दा पनि पहिले किसानले जैविक उपचारतर्फ लाग्नुपर्छ । जैविक उपचारले काम नगरेको अवस्थामा मात्रै विषादी प्रयोग गर्नुपर्ने मानन्धरको सुझाव छ ।