बाग्मती

चिडियाखानाको गोही सफा बन्दै

ललितपुर । सदर चिडियाखानामा रहेको गोही आगन्तुकले अब सफा देख्न पाउने भएका छन् । स्वचालित साधनको प्रयोग गरेर गोही सफा बनाउन लागिएको चिडियाखानाले जनाएको छ । स्वचालित यन्त्रले खोर सफा गर्नेसँगै अक्सिजनको मात्रा बढाउने सहायक निरीक्षक गणेश कोइरालाले बताए । उनले भने,“पानीको फोहोरा माथिबाट खस्दा पानीमा अक्सिजनको मात्रा समेत बढ्नेछ । खोर सफा हुँदा आगन्तुक थप आकर्षित हुन्छन् । ”

खोरमा स्वचालित यन्त्र जडान गर्ने काम यही आर्थिक वर्षदेखि शुरु भएको हो । काम झण्डै अन्तिम चरणमा पुगेको छ । उनले भने, “दुई चार दिनमा नै त्यो सञ्चालनमा आउनेछ ।”

चिडियाखानामा रहेका जनावरमध्ये गोही फोहोरी जनावर मानिन्थ्यो । यसअघि खोर नजीक जाँदा गोही हिलामा डुबेको देखिन्थ्यो । उनले भने, “यसले गर्दा गोही जुनसुकै समयमा सफा भइरहनेछ ।”

राणाकालमा बनेको चिडियाखानामा वर्षेनी सुधार र मर्मतका काम भइरहेका छन् । कतिपय खोरको मर्मत वा पुनःनिर्माण र कतिको क्षेत्रफल बढाउने जस्ता काम भइरहेका छन् । बाइस वर्ष पहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाको जिम्मेवारी लिएयता वर्षेनी सुधारका काम गरिरहेको हो । चिडियाखानामा अहिले एक सय २४ प्रजातिका आठ सय ३७ जनावर छन् ।